अन्तिम समयमा श्रीकृष्णले साथ छाड्दा

76
  •  
  •  
  •  

मीनकृष्ण श्रेष्ठ (श्रीकृष्णका दाजु)

बिहेपछि भाइबुहारी सिमला घुम्न भनेर हिँडेका थिए । तर भाइलाई लगातार खोकी लागेर श्वास फेर्न गाह्रो भएपछि गंगाराम अस्पताल भर्ना भएछ । पहिले बिरामी हुँदा पनि त्यही अस्पतालमा उपचार भएको थियो ।

हामी सधैँ सम्पर्कमै थियौँ । केही दिनसम्म पनि सुधार नभएपछि जेठा दाजु जानुभयो । १८ दिनपछि उहाँ फर्किनुभयो र म गएँ । म जाँदा उसको अवस्था सामान्य नै थियो । तर श्वास फेर्न अप्ठ्यारो भएकाले लगातार अक्सिजन दिइरहनुपथ्र्यो ।

म गएपछि मात्र थाहा भयो, डाक्टरले बोन क्यान्सरको पहिचान गरे । मृत्यु हुनुभन्दा १० दिनअघि मात्र बोन क्यान्सर पहिचान भएको हो । लगातार औषधि गर्दा पनि खोकी निको नभएपछि डाक्टरलाई शंका लागेर परीक्षण गर्दा बोन क्यान्सर भएको पत्ता लगाएका थिए ।

मैले थाहा पाएलगत्तै डाक्टरसित परामर्श गरेँ । डाक्टरले क्यान्सर पहिलो स्टेजमा भएकाले पूर्ण रूपमा निको हुन सक्ने बताए । उनीहरूले किमो दिनुपर्ने बताए । मैले अरू कुनै पनि देशमा लैजाँदा राम्रो उपचार हुन्छ कि भनेर सोधेँ । तर डाक्टरले जहाँ लगे पनि उपचार यही हो भनेपछि किमो दिने कुरा भयो ।

पहिलोचोटि किमो दिँदा भाइलाई बोन क्यान्सर भएको थाहा दिएको थिइनँ । तर दाजुको औषधि व्यवसाय भएकाले भाइलाई पनि औषधिको विषयमा राम्रो जानकारी थियो । किमो चढाउँदा उसले रोगको अनुमान भने सायद गरेको हुनुपर्छ । त्यसैले पहिलो किमो दिएपछि डाक्टरले उसलाई बोन क्यान्सर भएको बताउँदा ठूलो प्रतिक्रिया जनाएन ।

शनिबार किमो दिएपछि उसलाई निकै रिलिफ भयो । खोकी बन्द भयो । खाना राम्रोसित खान थाल्यो र कुराकानी गर्न थाल्यो । त्यति नै वेला उसले कोहिनुर फिल्मका लागि अडियो सन्देश रेकर्ड गरेर नेपाल पठाइएको हो । रेकर्ड गर्दा मैले मास्क हटाएर बोल्न लगाएको थिएँ । उसलाई बोल्न पक्कै पनि गाह्रो भइरहेको थियो ।

श्वेता बहिनीलाई पनि पहिलो किमो दिएपछि नै बोन क्यान्सर भएको थाहा दिइयो । तर किमो दिएपछि अवस्था सुधार भएकाले उनी विचलित भइनन् । अब ठीक हुन्छ भन्नेमा ढुक्क भइन् ।

अर्को शनिबार दोस्रो किमो दिने योजना थियो । बिहीबारसम्म पनि भाइको अवस्था राम्रो थियो । शुक्रबार बिहानदेखि अलिकति गाह्रो भएको महसुस भयो । श्वास फेर्न अप्ठ्यारो भयो भन्न थाल्यो । अक्सिजन दिएर पनि पुगेन । भोलिपल्ट बिहान खाना खाएपछि किमो दिने सल्लाह भयो । त्यो दिन भाइले खान पनि त्यति रुचाएन । एक बजेतिर किमो दिनका लागि स्लाइनबाट भिटामिन दिन थालियो । तीन बजेपछि शरीरमा अक्सिजन कम हुन थाल्यो । अक्सिजन नपुगेपछि किमो दिन नमिल्ने रहेछ । डाक्टरहरू सबै स्ट्यान्डबाई थिए ।

दोस्रोचोटि किमो सफल भएको भए भाइलाई धेरै राम्रो हुने थियो । त्यसैले डाक्टरहरूले आइसियूमा लगेर किमो दिने सल्लाह दिए । आइसियूमा सार्ने क्रममा रातको करिब ११ बजिसकेको थियो । भाइलाई आइसियूमा राखेर म तल झरेको थिएँ । श्वेता आइसियूमा भाइसित थिइन् । डाक्टरले एकचोटिमा एकजना मात्रै भित्र बस्न दिने भएकाले उनी भाइलाई बाई गरेर बाहिर निस्किन् । त्यसपछि म गएँ ।

म भित्र पस्नासाथ भाइले हातले इसारा गरेर मलाई बोलायो । म उसको नजिकै गएर बसेँ । उसले लामो सास फेर्‍यो । आँखाबाट आँसु झार्‍यो । मेरो एउटा हात दह्रोसित समायो । ‘दाइ म अब सक्दिनँ’ भन्यो । तर, त्यतिवेला उसको स्वर निकै प्रस्ट थियो । लगभग पहिलेको जस्तै । मैले आइसियूमा ल्याउनासाथ उसलाई राम्रो भएको पो अनुमान गरेँ । तर भाइ त एकदम निराशाजनक कुरा गर्न थाल्यो ।

करिब तीन मिनेट भाइले त्यसरी बोल्यो । परिवारका कुरा गर्‍यो । मेरी छोरी चल्ला (जिस्क्याएर बोलाउने नाम) लाई सम्झियो । आकाश अधिकारी र शिव दाइ (सायद शिव श्रेष्ठ हुनुपर्छ) को नाम लियो । अफिसका साथीभाइ, इन्द्रेणी गु्रप, चलचित्रसम्बन्धी संघसस्था, पत्रकारहरू सबैलाई सम्झियो । मेरी श्रीमती श्वेतालाई दाइले बहिनी बनाएर पाल्नुस् दाइ, धर्म लाग्छ भन्यो ।

उसले यस्तो कुरा गरे पनि स्वर सुन्दा भने म ढुक्क थिएँ, भाइलाई केही हुँदैन भन्ने । त्यतिन्जेल नजिकै रहेका डाक्टरहरू पनि उसको स्वर सुनेर खुसी भएका थिए । तर भाषण नै दिएजस्तो गरी भटाभट बोलेपछि भाइले समाएको हात एकाएक खुकुलो भयो । ऊ सुतेको खाट हल्लिएको महसुस भयो । मेरो मनमा चिसो पस्यो । भाइले छोडिसकेछ । एकाएक मेरो श्वास अड्केझैँ भयो । विदेशको ठाउँ, के गर्ने कसो गर्ने ? म एकैछिनमा पसिनाले निथ्रुक्क भएँछु ।

म भित्र भाइसित कुरा गरिरहँदा श्वेता बाहिर थिइन् । आइसियूको गेटबाहिर एउटा सानो मन्दिरजस्तो थियो । श्वेता बहिनी त्यही मन्दिरमा प्रार्थना गरिरहेकी रहिछन् । म बाहिर निस्कें, तर उनलाई केही भन्न सकिनँ । कसरी भन्ने ? बेहोस भइन् भने के गर्ने ? डाक्टरले एक घन्टाभित्रै लासलाई बाहिर निकाल्नुपर्छ भनेका थिए । मैले गेटमा रहेको गार्डसित सहयोग मागेँ । सो गार्डले अस्पतालमा एकजना नेपाली गार्ड छ, म बोलाइदिन्छु भने । तत्कालै ती नेपाली गार्ड आए । मानबहादुर गुरुङ नाम रहेछ, उनको ।

त्यतिन्जेलसम्म म छट्पटीमै थिएँ, श्वेता बहिनीलाई के भन्ने भनेर । मेरो लागि त्यो जीवनकै सबैभन्दा कठिन क्षण थियो । एकतिर आफैँ भक्कानो फुटाएर रोऊँजस्तो भइरहेको छ । अर्कोतिर श्वेता बहिनीलाई सम्हाल्नु छ ।

गार्ड श्रीभाइको फ्यान रहेछ । उसले श्वेतालाई सम्झाउन थाल्यो । त्यति नै वेला मैले काठमाडौंमा दाइ, भिनाजुलगायतलाई फोन गरेँ । श्वेता बहिनी मलाई के भयो दाइ, भनेर सोध्न थालिन् ।

त्यसपछि गार्ड र मैले बहिनीलाई अँगालो हालेर खबर भन्यौं । अनि त उनी रुँदै ढलिहालिन् । हामीले उनलाई बल्लतल्ल होटलमा लग्यौँ । रात यत्तिकै छर्लंग बित्यो । सोमबार सबैको सहयोगमा भाइको शव नेपाल ल्यायौँ ।

भाइले भनेजस्तै हामी अब श्वेतालाई बहिनी बनाएर राख्छौँ । मेरी एउटी दिदी छिन् अब एउटी बहिनी पनि भइन् । उनको भविष्यबारे हामी पनि सोच्छौँ । मन बुझाउने खालकी बहिनी छिन् । समयले बिस्तारै उनको घाउ पुर्दै जाला ।

अब सायद बहिनीले फिल्म खेल्दिनन् होला । बिहेअघि पनि भाइसित मात्र फिल्म खेलेकी थिइन् । हामी आफैँले बनाएको फिल्ममा मात्रै उनलाई खेलाउने सल्लाह भएको थियो । उनको इच्छा पनि यही हो । अरूको फिल्ममा खेल्न इच्छा गर्दिनन् । सायद अब फिल्ममा भन्दा बिजनेसमा नै अघि बढ्छिन् होला । उनको कन्स्ट्रक्सन बिजनेस छ । त्यसैमा बिजी हुन्छिन् होला । तैपनि उनको जीवनको उनकै निर्णय प्रमुख हो । हामी त्यसका सहायक मात्र हौँ ।

नयाँपत्रिका/चिरञ्जीवी पौडेल/तस्बिर : सतिश पोखरेल


  •  
  •  
  •