काठमाडौं, जेठ (ओएनएस) : अभिनेता राजेश हमालले विवाह गरे लगत्तै ‘कहाँ भेटिएला’ जोडीको विवाह घोषणाले फिल्मी नगरी तात्न थालेको छ । अभिनेता श्रीकृण्ण श्रेष्ठ र अभिनेत्री स्वेता खड्काले छिटै विवाह गर्ने घोषणा गरेपछि उनीहरुबीचको प्रेम सम्वन्धबारे गरिंदै आएको अड्कलवाजी सही साबित भएको छ ।
पाँच वर्ष अघि निर्माण भएको फिल्म ‘कहाँ भेटिएला’मा श्रीकृष्ण र स्वेता सँगै देखिए लगत्तै यो जोडीको केमेस्ट्री मिलेको टिप्पणी गरिएको थियो । श्रीकृष्णकै लगानीमा निर्माणाधीन फिल्म ‘कोहिनुर’मा समेत स्वेतालाई मुख्य भूमिका दिएपछि उनीहरुको सम्वन्धमाथि चर्चा गर्नेले अर्को मौका पाएका थिए । यद्यपी श्रीकृष्ण र स्वेताले भने आफूहरुबीच प्रेम सम्वन्ध नरहेको बताउँदै आएका थिए । तर, ‘कोहिनुर’ रिलिज अघि नै उनीहरले आफ्नो सम्वन्ध ‘रिलिज’ गरेका छन् ।
फिल्म साउन २४ मा रिलिज गर्ने भनिए पनि विवाहको ‘रिलिज डेट’ भने निश्चित भएको छैन । स्वेताले विवाहलाई ‘एरेन्ज’ बताएकी छिन् । पारिवारीक जमघटमा श्रीकृष्णको परिवारले विवाहको प्रस्ताव राखेको उनको भनाई छ । ‘त्यो प्रश्नले मलाई अक्क न वक्क बनायो । सिनेमामा सँगै काम त गरियो, यसरी विवाहकै प्रस्ताव गरिएला जस्तो लागेको थिएन,’ ओएनएस न्युजसँग कुरा गर्दै स्वेताले भनिन्, ‘पहिला प्रस्तावमाथि खुब सोचें । अनि यस्तै लेखिएको रहेछ कि भन्ने लागेर हुन्छ भनें ।’
श्रीकृष्णलाई घर्कदो उमेरले चुनौती दिएको थियो । स्वेतालाई यहीसाल विवाह गर्न ज्योतिषले सुझाएका थिए । परिवार ज्योतिषको सुझावलाई जसरी पनि कार्यान्वयन गराउने पक्षमा थियो । ‘यस्तो परिस्थितीमा विवाहको प्रस्ताव घरमा पुगेपछि टार्न सकिन,’ उनले खुलाइन् । उनी आफ्नो जोडी जम्नुमा मिडियालाई जस दिन्छिन् । ‘सुहाएकै देखेर होला हामीलाई कपलको रुपमा प्रचार गर्यो । बिस्तारै आफैंलाई पनि बानी पर्न थाल्यो,’ विवाहको तयारीमा रहेकी स्वेताले बताइन् ।
श्रीकृष्णसँग उमेरको ठूलै अन्तरबारे प्रश्न गर्दा उनले मुस्कुराउदै भनिन्, ‘अब मन परेपछी उमेर, समय, जात केही पनि हेर्न मन लाग्दो रहेनछ ।’
श्रीकृष्ण भने स्वेतालाई असल साथी हुदै जीवनसाथी बनाउन पाएकोमा खुसीछन् । ‘हो मैले समझदार साथी पाउने भएको छु । विवाहको बाँकी जानकारी समय तय हुने वित्तिकै गराउनेछु,’ उनले भने ।