काठमाडौं ५ भदौ ।
नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठद्वारा निर्मित दोस्रो तथा उनको अन्तिम फिल्म कोहिनुर हेर्न हेटौंडाका हलमा ओइरिएका दर्शकले नायक श्रेष्ठप्रति श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन्। सिनेमा हल सञ्चालकहरुले हल परिसरमा राखेको श्रीकृष्णको तस्वीरमा माल्यार्पण गरेर सर्वसाधारण दर्शकहरुले श्रद्धाञ्जलि व्यक्त गरिरहेका हुन्।
तस्वीरनजिकै राखिएको शोक पुस्तिकामा दर्शकले श्रीकृष्णको स्मृतिमा मनै छुने खालका अभिव्यक्ति उल्लेख गरेका छन्। पारिवारिक र सामाजिक फिल्म दिनका लागि माहिर नायक तथा निर्माता श्रीकृष्णद्वारा निर्मित अन्तिम फिल्म कोहिनुर हेर्न दर्शकको भीड लागेको छ। कोही हलभित्र प्रवेश गर्नुअघि त कोही फिल्म हेरिसकेर बाहिरिएपछि उनीप्रति श्रञ्द्धाञ्जलि व्यक्त गरिरहेका छन्।
कोहिनुर हेरेर फर्केका दर्शकले अभिनेता श्रीकृष्ण श्रेष्ठलाई सम्झेर आँशु रुखसाल्ने गरेका छन्। अभिनेता श्रेष्ठलाई नै फिल्मको पर्दामा हेरिरहन खोज्ने दर्शकले उनको निधन सपना जस्तो लागेको बताए।
दर्शकको भीड बढेसँगै त्यहाँ राखिएको शोक पुस्तिकामा शोक व्यक्त गर्ने ठाउँको अभाव हुन थालेको छ। हल सञ्चालक नरेन्द्र महर्जनका अनुसार अघिल्लो सोमबार राखिएको १ थान शोक पुस्तिका सकिएकाले शुक्रबारदेखि अर्को पुस्तिका राखिएको छ। हेटौंडामा कोहिनुर हेर्ने दर्शकहरुको ओइरो नै लागेको छ। नेपाली फिल्ममा यसरी दर्शकको ओइरो लागेको लामो समयपछि भएको सञ्चालक महर्जनले बताए।
चलचित्र वितरकसमेत रहेका महर्जनका अनुसार करिब २० वर्षपछि नेपाली फिल्म हेर्न हेटौंडामा दर्शकको ओइरो लागेको हो। दर्शकको भीड बढेसँगै उनीहरुलाई सुरक्षा प्रदान गर्न हलको आग्रहअनुसार जिल्ला प्रहरी कार्यालयले प्रहरी सुरक्षाकर्मी परिचालन गरेको छ।कोहिनुरले नेपाली फिल्मको व्यापारलाई आश्चर्यजनक रूपमा बढाएको भन्दै सञ्चालक महर्जनले यहाँ कम्तीमा ३ साता कोहिनुर दर्शकको भीड यसै गरी बढ्न सक्ने सम्भावना औंल्याए। कोहिनुर हेर्न रिलिजकै दिनदेखि दर्शकको ओइरो लागेकाले हेटौंडामै फिल्म प्रदर्शनको नयाँ रेकर्ड कायम भएको छ। दर्शकको यसरी ओइरो लाग्नुमा महर्जनले श्रीकृष्णप्रतिको श्रद्धाञ्जलि भएको बताए।कोहिनुरमा दर्शकको चाप बढेर थामिनसक्नु भएपछि ओम्याक्स हलमा रिलिज भएको इट्स इन्टरटेन्मेन्ट र सिंघम रिटन्र्सलाई दैनिक १ शोमा सीमित गरिदिएको छ। फिल्मले देशभरबाट हालसम्म साढे चार करोडको व्यापार गरिसकेको छ।
नेपालसमाचारवत्रबाट