आज कृष्णजन्माष्टमी

105
  •  
  •  
  •  

काठमाडौं । आज ‘श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन रहि आएको छ ।

फाइल तस्बिर

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित रहेका थिए ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

यसैबीच पर्वको अवसरमा पाटनको मंगलबजारमा रहेको कृष्णमन्दिरमा ठूलो मेला लाग्दछ ।  यसैगरी काठमाडौं उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।

यस्तै काठमाडौंका विभिन्न धार्मिक संघसंस्थाले आज श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्दैछन् ।

‘सांस्कृतिक परम्पराले एकताको सूत्रमा बाँधेको छ’

राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँधेको बताएकी छन् ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै उनले श्रीकृष्णजन्माष्टमीजस्ता ऐतिहासिक सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँध्नुका साथै सामाजिक तथा धार्मिक सहिष्णुता एवं सद्भाव अभिवृद्धि गर्न ठूलो मद्दत पु¥याएको बताएकी हुन् ।

भण्डारीको सन्देशमा भनिएको छ, ‘हाम्रा सांस्कृतिक सम्पदा, प्रचलन र मान्यता राष्ट्रिय जीवनका अमूल्य निधि हुन् । मुलुकको सभ्यता र सम्पन्नताको सूचकसमेत मानिने यस्ता मौलिक परम्परा र संस्कृतिको प्रवद्र्धधन गर्नु हामी सबैको साझा दायित्व हो ।’


  •  
  •  
  •