
काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेट गरेका छन् ।
मलेसियाली गृहमन्त्री सैफुद्दिन र श्रममन्त्री अर्यालबीच काठमाडौंको एक होटलमा भेट भएको हो । दुई मन्त्रीबीचको भेटवार्तामा नेपाल र मलेसियाबीच थप श्रमिक पठाउनेबारे छलफल भएको बताइएको छ ।
तीन दिने भ्रमणका लागि १५ सदस्यीय टोलीको नेतृत्वमा गर्दै गृहमन्त्री सैफुद्दिन बिहीबार साँझ काठमाडौं आइपुगेका हुन् । मलेसियाको गृहमन्त्रीस्तरीय नेपाल भ्रमण १४ वर्षपछि भएको हो ।
मलेसियामा श्रमिक पठाउनेमा नेपाल प्रमुख स्रोत मुलुक भएकाले नयाँ व्यवस्था र परिस्थितिअनुसार नेपाली श्रमिक लैजाने वातावरण बनाउन मलेसियाको टोली आएको हो ।
एकै पटक पाँच लाख श्रमिक आवश्यक भएकाले मलेसियाले नेपाललाई प्राथमिकतामा राखेको छ । मलेसियाले ल्याएको कार्यक्रममा विभिन्न कारणले कागजातविहीन भएर काम गरिरहेका श्रमिकलाई आममाफीमार्फत पुनः कानूनीरूपमा काम गर्ने अवसर प्रदान गर्ने तयारी गरेको छ ।
भ्रमणका क्रममा गृहमन्त्री इजमाइलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहालाई पनि भेट्ने कार्यक्रम रहेको छ ।