काठमाडौं १० मंसिर ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले सुनसरीमा प्रवेश गरेर नेपाली किसानमाथि गोली प्रहार गरेको घटनाप्रति सरकारले भारतको ध्यानाकर्षण गराउने भएको छ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतले सुनसरीको हरिपुरस्थित नेपाली भूभागमा छिरेर गोली चलाएको घटना अत्यन्त गम्भीर भएकाले भारत सरकारको ध्यानाकर्षण गराइने जानकारी दिएका हुन्। संसद्को राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्रीले भने, ‘यो घटना गम्भीर छ, नेपाल सरकारले यस घटनाप्रति भारत सरकारको ध्यानाकर्षण गराउनेछ।’
भारतीय नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनले मुलुकको शान्तिसुरक्षा व्यवस्थाबारे जानकारी माग्न समितिले गृहमन्त्रीलाई बोलाएको थियो। समितिमा आन्दोलनरत दलका नेता, सत्तासीन दल र विपक्षी दलका नेतालाई समेत निम्त्याइएको थियो।
बैठकको सुरुमा बस्नेतले जारी आन्दोलनका क्रममा हालसम्म ११ सुरक्षाकर्मीसहित ४६ जनाले ज्यान गुमाएको र नौ सय ५० जनाभन्दा बढी घाइते भएको जानकारी दिएका थिए।उनले तराईका सीमावर्ती नाकामा भारतद्वारा मधेसका नाममा प्रायोजित नाकाबन्दी गरेकाले मुलुकको सुरक्षा स्थिति थप जटिल बनेको बताए।
आन्दोलनकारीले गरेका हर्कतअनुसार सुरक्षाकर्मी र प्रशासनले धेरै संयम अपनाएको दाबी गर्दै बस्नेतले भने, ‘उहाँहरू वार्ताको टेबलमा बसेर सकारात्मक भयो भन्नुहुन्छ, भोलिपल्टै राजमार्ग जसरी पनि बन्द गर्ने भन्नुहुन्छ, अनि कसरी योजनाअनुसार काम हुन्छ ? शान्तिपूर्ण आन्दोलन भनेर सर्वसाधारणको ज्यान लिने अधिकार कसैलाई छैन।’
बैठकमा कांग्रेसका सांसद एवं मोर्चाको आन्दोलनमा खुलेरै लागेका अमरेशकुमार सिंह बढी आक्रोशित बनेका थिए। उनले गृहमन्त्रीलाई युद्धकालीन संकोच छाडेर परिस्थितिको उचित मूल्यांकन गर्न भनेका थिए। उनले सुरक्षाकर्मीसहित ५५ जना मारिएको दाबी गर्दै सरकारले गलत तथ्यांक सार्वजनिक गरेको आरोप लगाए।
कांग्रेस सांसद आरजू देउवाले आन्दोलन दबाउन गोली नै हान्नु जरुरी नभएको बताएकी थिइन्। उले भनिन्, ‘अहिले जाडो मौसम छ, बरु पानीको फाहोरा फाल्ने ट्रक काठमाडौंदेखि लगेरै भए पनि काम गर्न सकिन्छ।’ अर्का मधेसी नेता एवं सांसद बृजेशकुमार गुप्ताले आन्दोलन भारतले नै गरेको हो भने किन मधेसी दलसँग वार्ता गर्ने भन्दै प्रश्न गरेका थिए।
खोक्रो राष्ट्रियताले केही नहुने बताउँदै उनले सरकार संयम भएर काम गर्न सुझाए। उनले आन्दोलनमा भारतबाट केही व्यक्ति घुसेको स्वीकार गर्दै सीमामा बेरोजगारी र फुर्सदिला केही भारतीय नागरिक छिर्न सकेको बताए।
अन्नपूर्णपोष्टबाट