शिव पार्वती विवाह महोत्सव सम्पन्न

495
  •  
  •  
  •  

shiva parvati marriageभक्तपुर, ९ वैशाख(ओएनएस) : अक्षय तृतियाका दिन भएको शिव पार्वती विवाह महोत्सवको भक्तपुरमा सम्पन्न भएको छ । भक्तपुरको सिपाडोल स्थित केदारनाथको शिर डोलेश्वर महादेव दुलाह र भक्तपुर नगरपालिका तौमडी स्थित् सिद्धिलक्ष्मी दुलहीको रुपमा विवाह सम्पन्न भएको हो ।

बह्मा विष्णु, इन्द्र, नारद, नन्दी भिङ्गी, लगायतका पञ्चे, धिमाह बाजागाजासहित लावा लस्करका साथ स्वरुपहरु जन्तीको रुपमा सहभागि भएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव मोहन बल्लले जानकारी दिएका छन् ।

उनका अनुसार केदारनाथको शिरबाट हिँडेको जन्तीलाई दुलही पक्षका हिमालय पर्वत र मेनुकाले भक्तपुरको च्यामासिङ्ग स्थित् मूल गेटमा स्वागत गरेका थिए । विवाहमा सिद्धिलक्ष्मी पार्वतीको रूपमा मानिएको थियो भने शिवको रूपमा डोलेश्वर महादेवलाई मानिएको थियो ।

विवाहको कार्य राजोपाध्य, जोशी र कर्माचार्यद्वारा शास्त्रीय विधि र परम्परा अनुसार ममादेव र पार्वतीको विवाह गराई सम्पन्न गरिएको थियो । वर वधुलाई साँझ करिब पाँच बजेतिर तौमडीबाट विधिपूर्वक बिदाई गरिएको विवाहका संयोजक नवलराज भण्डारीले जानकारी दिए ।

नेपालमा यस्तो किसिमको शिव पार्वतीको विवाह दोस्रो पटक भएको समितिका संयोजक भरत जंगमले बताए । उनका अनुसार यसअघि विक्रम संवत २००६ सालमा भक्तपुरमै नासमनाको पार्वती र दत्तात्रयको शिवबीच विवाह भएको थियो । यो विवाहले भाईचारा शान्ति र सद्भावको विकास गर्दै समन्वयको दुरी कायम राख्न समेत सहयोग पुग्ने उनले बताएका छन् ।


  •  
  •  
  •