भक्तपुर, २६ मंसिर(ओएनएस) : सूचना सञ्चार तथा प्रविधि मन्त्री शेरधन राईले मधेस समस्याको निकासका लागि सरकारले मधेसी मोर्चासँग निर्णायक वार्ता गर्ने बताएका छन् । मन्त्री राईले अबको निर्णायक वार्ताबाट निकास निस्कने दावी गरे ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेसनल प्याब्सन) भक्तपुरको आज आयोजित पाँचौँ साधारणसभामा नाकाबन्दी गर्ने, मानवीय सङ्कट पैदा गर्ने, अवरोध पैदा गर्ने कामले समस्याको निकास ननिस्कने बताउँदै उनले समस्याको निकासका लागि वार्ता र संवाद एक मात्र विकल्प भएको बताए ।
नाकाबन्दीका कारण गम्भीर मानवीय संकट नेपाली जनताले भोग्न बाध्य भएपनि राष्ट्रियता, स्वाधिनता, राष्ट्रिय भावना जगाउँने काम गर्दै देश, संविधान र राष्ट्रियतालाई झुक्न र झुकाउन नदिई नेपाली जनताले खबरदारी गरिरहेको बताए ।
नेपालको समस्या लिई बाहिर गएर हारगुहार गर्दैमा र अरुको शरणमा पर्दैमा समाधान नहुने बताउँदै उनले आफ्नो देशको समस्याको समाधान पनि यहीँबाट निकाल्नुपर्नेमा जोड दिए ।
अहिले नेपालीलाई भूकम्पबाट भएको क्षतिले भन्दा नाकाबन्दीको क्षतिले बढी असर पुर्याएको उनले बताए । सरकारले अगाडि सारेको दुईवर्षीय सुधारको कार्ययोजनालाई सफल बनाएर जनतालाई अनुभूति हुने गरी परिवर्तन गरिने उनको भनाइ छ । मन्त्री राईले सबैको भावना समेट्दै नेपालको संविधान सम्झौता र सहमतिको साथ आएकाले कसैले भनेजस्तो एकपक्षीय नभएको बताउँदै भने-“बहुसाँस्कृतिक मुलुक नेपालमा सबै जातजाति, भाषा र धार्मिक समुदायलाई समेटेर संविधानसभाले लोकतान्त्रिक विधिबाट संविधान जारी गर्नु नेपालको सफलता हो ।”
सो अवसरमा राष्ट्रियगानका रचनाकार व्याकुल माइला र शिक्षा क्षेत्रमा योगदान दिने महादेव पर्वतेलाई सम्मान गरिएको थियो ।