बजेट कार्यान्वयन हुनेमा शंका : देउवा

129
  •  
  •  
  •  

काठमाडौँ, २८ बैशाख(ओएनएस) : नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले म्यादी सरकारले ल्याएको बजेट पनि म्यादी नै हुने बताएका छन् ।

मंगलबार व्यवस्थापिका संसदमा सरकारले आइतबार ल्याएको नीति तथा कार्यक्रमका सम्बन्धमा आफ्नो धारणा राख्दै सभापति देउवाले म्यादी सरकारले ल्याएको बजेट कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । उनले न्यायापालिका तथा राजदूत नियुक्तिमा समेत हस्तक्षेप भएको आरोप लगाएका छन् ।

यस्तै, उनले स्थानीय निकायको निर्वाचन सहज नभएको बताएका छन् । उनले बालानन्द पौडेलको नेतृत्वमा गठित आयोगको प्रतिवेदन नआएसम्म स्थानीय निकायको निर्वाचन गर्न नहुने धारणा राखेका छन् । उनले नाकाबन्दी खुलेको तीन महिना बितिसक्दा पनि बजारमा कालोबजारी नघटेको भन्दै तेल, ग्यासको अझै पनि हाहाकार रहेको बताए । उनले सरकारलाई सोधे, ‘के हेरेर बसेको छ सरकार ?’

संसदको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जुनसुकै हालतमा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताएका छन् । नेता खनालले ऐन, नियम बनाएरै भए पनि स्थानीय निकायको निर्वाचन गराउनुपर्ने बताए ।


  •  
  •  
  •