मधेस आन्दोलनले कसैको भलो हुन्न : देउवा

348
  •  
  •  
  •  

काठमाडौ, २६ कात्तिक(ओएनएस) : नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मधेसमा भएको आन्दोलनले नाकाबन्दीलाई सहयोग पुगेको र यसले कसैको भलो नगर्ने बताएका छन् ।

नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वरिष्ठ नेता देउवाले जनतालाई दुःख दिने आन्दोलनबाट मधेस र मधेसी जनताको जित नहुने बताएका छन् ।

उनले चित्त नबुझेका कुराहरू वार्ताबाट हल गरेर निकास खोज्न मधेसवादी दलहरूलाई आग्रह गरेका छन् । उनले नाकाबन्दीका कारण जनताले औषधिसमेत नपाउने, दैनिक उपभोग्य सामग्रीको अभाव हुने र बालबालिकाको पढ्ने अधिकारसमेत खोसिएको उल्लेख गरे । भारतले गरेको नाकाबन्दी जायज नभएको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले भारतलाई आपूर्तिमा सहज गरिदिन आग्रह गरे ।

नेपालले भूकम्पजस्तै नाकाबन्दीको सहजै सामना गर्नसक्ने चर्चा गर्दै उनले भारतको नाकाबन्दीले यतिखेर नेपाली जनतामा राष्ट्रिय भावना, संयम र स्वाभिमान जागेको बताए । राष्ट्रपति, प्रधानमन्त्रीको निर्वाचनमा भएको हारले काँग्रेसलाई लज्जित बनाएको बताउँदै देउवाले यसबाट पाठ सिकेर काँग्रेस एकताबद्ध र जुझारु भएर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।


  •  
  •  
  •