कार्पेट उद्योगका लागि आवश्यक ऊन अब नेपालमैं

469
  •  
  •  
  •  

काठमाडौं, १६ चैत (ओएनएस) : कार्पेट उद्योगका लागि आवश्यक मापदण्ड सहितको ऊन अब नेपालमैं उत्पादन हुने भएको छ । जुम्ला र नुवाकोटमा भएको परीक्षणबाट ऊनका लागि उपयुक्त कुपोर्थ र रोम्नीमार्स जातका भेडा नेपालमा पाल्न सकिने देखाएको छ ।

नेपालमा पाइने भेडाबाट निकालिएको ऊन कार्पेट उत्पादनका लागि २० प्रतिशतमात्रै प्रयोग गर्नु पर्ने भएपछि सरकारले परीक्षणका लागि न्यूजिल्याण्डबाट कुपोर्थ र रोम्नीमार्स जातका भेडा ल्याइएको थियो । गएको भदौ पहिलो हप्ता न्यूजिल्याण्डबाट ११ वटा थुमा र ४० वटा माउ भेडा नेपाल भित्रयाएको हो ।

जसमध्ये ५ वटा थुमा र २० वटा माउ भेडा जुम्लाको गोठिचौरमा रहेको भेडाबाख्रा अनुसन्धान कार्यक्रममा र ६ वटा थुमा र २० वटा माउ भेडा नुवाकोटको पानसयखोला भेडा विकास फार्ममा पालिएको पशुसेवा विभागले जनाएको छ । गोठिचौरमा पालिएका कुपोर्थ र रोम्नीमार्स जातका भेडाले सन्तान बृद्धि गरिसकेको वैज्ञानिक डाक्टर दिनेश यादवले बताए ।

स्थानीय बरुवाल जातको थुमासँग क्रस गराइएकोमा उन्नत जातका भेडाले ११ वटा पाठापाठी जन्माएको उनको भनाइ छ । नेपालका कार्पेट उद्योगहरुले अहिले पनि न्युजिल्याण्ड र तिब्बतबाट ऊन ल्याउनु पर्ने बाध्यता भएकोले नेपाललाई ऊन उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका भेडा ल्याइएको हो ।

वैज्ञानिक यादवले भने, ‘नेपालका उद्योगले विदेशबाट ऊन ल्याएर कार्पेट उत्पादन गरिरहेका छन् । जसबाट उनीहरुको उत्पादन लागत बढाउनुका साथै पैसा पनि वाहिर गैरहेको छ । देशका उद्योगलाई आवश्यक ऊन यहिँ उत्पादन गर्न सकिने सम्भावना खोजेका थियौं । न्यूजिल्याण्डबाट नेपालमा ल्याएर पाल्न सकिने जातको खोजी गर्दा कुपोर्थ र रोम्नीमार्स उपयुक्त हुने थाहा पाएपछि चार वर्षको पहलपछि भेडा ल्यायौं । भदौदेखिको अनुभवबाट यहाँको चिसो हापवा पानीमा यी जातका भेडा उपयुक्त देखियो ।’

यसै हप्ता भेडाको ऊन काटिएको उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान गोठिचौरका निर्देशक डाक्टर मेघराज तिवारीले बताए । रोम्नीमार्स जातका भेडाबाट औसतमा साँढे तीन किलोसम्म ऊन उत्पादन गर्न सकिने देखिएको उनको भनाइ छ । डाक्टर तिवारीले भने, ‘हामीले न्यूजिल्याण्डबाट ल्याइएका भेडाको ऊन काटेर हेर्यौं । त्यसमा रोम्नीमार्स जातका भेडामा औसतमा साँढे तीन किलोसम्म र कुपोर्थत जातका भेडामा तीन दशमलव २५ किलोसम्म उत्पादन हुने देखियो । ऊन उत्पादनका लागि त शुद्द रोम्नीमार्स वा कुपोर्थ पाल्नु उपयुक्त देखिएको छ ।’

जुम्ला पुर्याइएका ५ वटा थुमा र २० वटा माउलाई एक डेढ वर्ष फारममैं पाल्ने डाक्टर दिनेश यादवले जानकारी दिए । उनले भने, ‘अझै कम्तिमा उक वर्ष हाम्रै फारममा पाल्छौं । स्थानीय बरुवाल जातका भेडासन्ँगको क्रस उत्पादन पनि हेर्छौं । यीनिहरुको सँख्या बढेपछि बिस्तारै किसान समूहलाई थुमा वितरण गर्ने योजना छ ।’

कृतिम गर्भाधानमा पनि सफलता कम हुने र ८ पुस्तासम्म कुर्नु पर्ने भएकोले भेडा नैं खरिद गरेर ल्याइएको भेडाबाख्रा अनुसन्धान कार्यक्रमले जनाएको छ । नेपालमा भएका भेडाबाट उत्पादन हुने ऊनको स्तरोन्नती गर्न र कार्पेट उत्पादनका लागि आवश्यक ऊन नेपालमैं उत्पादन गर्ने लक्ष्यका साथ उन्नत जातका भेडा ल्याइएको हो ।

कार्पेट उत्पादनका लागि आवश्यक ऊन अब जुम्ला सहितका हिमाली जिल्लाबाट उत्पादन हुने आशा गरिएको उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान गोठिचौरका निर्देशक डाक्टर मेघराज तिवारीले बताए ।


  •  
  •  
  •