काठमाडौं, २४ असार (ओएनएस) संविधान सभाको निर्वाचन पछि उदारवादी अर्थतन्त्रका पक्षधर नेपाली कागे्रस र नेकपा एमाले सम्मिलित सरकार गठन भएपछि अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । संविधान सभा निर्वाचन भएसंगै निरन्तर उकालो लागेको शेयर बजार एक हजार बिन्दु भन्दा माथि पुगेको छ ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारका समयमा तत्कालीन अर्थमन्त्री डा. बावुराम भट्टराईले शेयर बजारलाइ ‘जुवाको घर’को संज्ञा दिएपछि शेयर बजार लगातार ओरालो लागेको थियो । मंगलवार शेयर बजारमा उल्लेख्य सुधार सहित रेकर्ड तोडिएको छ ।
झण्डै २० अंकले बढेर नेप्से १ हजार १४ बिन्दुमा पुगेको छ । इन्सुरेन्स बाहेकका सूचकाङकमा सुधार आउदा नेप्से दोहोरो अंकले बढेको हो । १९ दशमलव ४८ अंकले बढेर १ हजार १४ दशमलव ६४ बिन्दुमा पुगेको छ । यसअघि २०६५ भदौमा नेप्से १ हजार २८ बिन्दुमा थियो ।
शेयर बजारमा देखिएको बृद्धिलाइ कतिपयले अर्थतन्त्रमा आएको सुधारको संकेत भनेका छन् । ‘नेप्सेमा देखिएको सुधार समग्र अर्थतन्त्रको सुधारको रुपमा लिनुपर्छ, नेपाली कागे्रसका केन्द्रीय सदस्य एवं सभासद् धनराज गुरुङले भने–नेपाली कागे्रसको नेतृत्वमा सरकार गठन भएपछि जनतामा आत्मविश्वास बढेको बुझ्न सकिन्छ ।’
एकीकृत माओवादीका नेता एवं पूर्व अर्थ राज्यमन्त्री हरिराज लिम्बु भने शेयर बजारमा देखिएको सुधारलाइ अर्थतन्त्रमा आएको सुधारको रुपमा हेर्न नसकिने बताउछन् । ‘शेयर बजारलाइ अर्थतन्त्रको सूचकको रुपमा लिन सकिन्छ, लिम्बुले भने–नेपालको शेयर बजारको बृद्धि स्वभाविक छैन ।’
नयाँ बजेटमा शेयर लगानी कर्तालाई आकर्षित गर्ने कार्यक्रम आउने विश्वासका साथ लगानी कर्तामा पलाएको आत्मविश्वासका कारण नेप्सेमा उल्लेख्य सुधार देखिएको छ । ‘यसपटक राम्रा कम्पनीको मात्र शेयर बढेको छ, त्यसैले बजारमा देखिएको सुधार स्वभाविक छ, शेयर लगानी कर्ता सुवास निरौलाले भने ।’
विकसित मुलुकमा शेयर बजारलाइ अर्थतन्त्र बृद्धिको मुख्य सूचकको रुपमा लिने गरिन्छ । सरकारले चालु आर्थिक बर्षमा ५ प्रतिसत हाराहारिमा आर्थिक बृद्धि हुने अपेक्षा गरेको छ । नेप्से बढेसंगै ‘क’ बर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ४ दशमलव १९ अंकले बढेर २ सय १६ दशमलव ५५ बिन्दुमा पुगेको छ ।
मंगलवार शेयर बजारमा एकै दिन ८२ करोडको शेयर कारोबार भएको छ । बैङिकङ समूहमा २५ दशमलव शून्य ४ अंकको सुधार आएको छ ।