सोमबार नै संसद खुलाउन सभामुखको निर्देशन

181
  •  
  •  
  •  

काठमाडौं, असोज १२ (ओएनएस) : सभामुख सुवाचन्द्र नेम्वाङले दशैँ अगाडी नै संसद्को गतिरोध हटाउन सरकार र विपक्षी दललाई निर्देशन दिएका छन् ।

व्यवस्थापिका संसद्को आईतबारको बैठकपनि अवरोध भएपछि सभामुख नेम्वाङले सोमबार नै संसदको गतिरोध हटाउन भनेका हुन् ।

विपक्षी दलको अवरोधपछि आइतबारको  बैठक स्थगन गर्दै सभामुख नेम्वाङले दलका नेताहरूले सार्वजनिक प्रतिबद्धता गरेको समय सकिदा पनि  गतिरोध नखुलेको भन्दै रोष प्रकट गरे । उनले भने,‘भोलि(सोमबार)भित्र सदनको गतिरोध खोलेर ढुक्कका साथ दसैँ मनाउने वतावरण निर्माण गर्न आग्रह गर्दछु ।’

नेम्वाङले चार बँुदे सहमतिको कार्यान्वयको माग राखी सदनमा गतिरोध भएपछि दलहरूबीच सहमति भएको भन्ने जानकारी आएकाले त्यसलाई निष्कर्षमा पु¥याउन आग्रह गरे ।

संसद बैठक सुरु हुने वित्तिकै विपक्षी दलका तर्फबाट सभासद् अकवाल अहमद साहले सदन निरन्तर अवरुद्ध हुँदा पनि सरकारले वेवास्ता गरेको भन्दै चार बुँदे सहमति अनुुसार उच्चस्तरीय राजनीतिक समिति गठन नभएकोमा आपत्ति जनाए ।

उनले बोल्दै गर्दा अर्थमन्त्री डा रामशरण महतले चार बुँदे सहमति संसद र सरकारको विषय नभई दलहरुले मिलाउने विषयमा सरकारलाई दोष दिन  नमिल्ने भन्दै नियमापत्ति गरे ।

उनले सदनको गतिरोधका कारण बजेट पारित हुन कठिनाई भएको तर्फ ध्यानाकर्षण गराएका थिए । संसद्को अर्काे बैठक सोमबार दिउँसो  दिनको ४ बजेका लागि राखिएको छ । प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीसहित मधेशवादी दलले उच्चस्तरीय राजनीतिक समिति गठनलगायतका माग गर्दै लगातार संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।


  •  
  •  
  •