आईसीसीको अध्यक्षमा शशांक मनोहर निर्विरोध चयन

150
  •  
  •  
  •  

shashank manoharकाठमाडौँ, ३० बैशाख(ओएनएस) : अन्तराष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)को अध्यक्षमा भारतीय क्रिकेट बोर्डका पूर्व अध्यक्ष शशांक मनोहर निर्विरोध चयन भएका छन् ।

मनोहरले अब आइसीसीको अध्यक्षका रूपमा तत्काल लागू हुनेगरी दुइवर्षसम्म कार्यकाल सम्हाल्नेछन् ।

मनोहरले दुई दिन अगाडि नै भारतीय क्रिकेट बोर्डको अध्यक्षबाट राजीनामा दिएका थिए । आइसीसीको अध्यक्षमा उठ्नका लागि अन्य कुनै पनि देशको क्रिकेट प्रमुख हुन नहुने भएका कारण उनले राजीनामा दिएका थिए । तर, उनले भने आफूले आइसीसीको अध्यक्ष लड्नका लागि राजीनामा नदिएको बताएका छन् ।

आईसीसीका अनुसार निर्वाचन प्रक्रियाका क्रममा आईसीसीका निर्देशकहरूले एक उम्मेदवार मनोनित गर्न पाउँछन् । उम्मेदवार आईसीसीको बहालबाला वा पूर्व निर्देशक हुनुपर्छ । यसरी मनोनित भएको उम्मेदवारी दुई वा दुई भन्दा बढि सदस्य निर्देशकहरूले समर्थन गर्नुपर्ने हुन्छ, तबमात्र मनोनित उम्मेदवारले चुनावी प्रक्रियामा भाग लिन पाउँछ । आउँदो मे २३ मा उम्मेदवारहरूबीच चुनाव हुने कार्यक्रम रहेको थियो, तर मनोहर सर्वसम्मत भएपछि चुनावको आवश्यकता परेन ।

मनोहराहेक अन्य कसैको पनि उम्मेदवारी नपरेपछि मनोहर निर्विरोध चयन भएका हुन् । उनी पेशाले भारतका प्रख्यात कानून व्यवसायी हुन्छ । उनले बीसीसीआईको अध्यक्षका रुपमा दुई वटा कार्यकाल काम गरेका थिए । उनले सन् २००८ देखी २०११ सम्म र २०१५ अक्टोबरदेखि २०१६ मे महिनासम्म बीसीसीआईको अध्यक्षको रूपमा कार्यभार सम्हालेका थिए । उनले दोस्रो कार्यकाल पुरा नहुँदै दुई दिन अगाडि मात्र अध्यक्ष पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएको दुई दिनपछि नै उनी आईसीसीको अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

निर्वाचित भएपछि मनोहरले आईसीसीको अध्यक्ष हुन पाउनु आफ्नो लागि गर्वको कुरा भएको बताउँदै आईसीसीका निर्देशकहरूलाई आफूमाथि गरेको विश्वासका लागि धन्यवाद दिएका छन् ।


  •  
  •  
  •