काठमाडौं, ९ भदौ (ओएनएस) : संविधानसभा निर्वाचन भएपछि लगातार उकालो लागेको शेयर बजार आज एकै दिन झण्डै ४० अंकले ओरालो लागेको छ । बजार खुल्ना साथ तीब्र गतिमा ओरालो लाग्न थालेपछि सर्किट बे्रकर लगाएर बजार बन्द गर्नु परेको थियो ।
३७ दशमलव ६१ अंंकले घटेर नेप्से ९ सय ४७ दशमव ८४ बिन्दुमा पुगेको छ । उत्पादन समूह बाहेकका परिसूचक घटदा समग्र नेप्से ओरालो लागेको हो । सोमबार जलबिद्युत र बिमा समूहका लगानी कर्ताले सर्बाधिक गुमाएका छन् । बिमा समूहमा २ सय ३२, जलबिद्युत समूहका १ सय ५२ र बाणिज्य बैंक समूहमा ३६ अंकको गिरावट आएको छ ।
नेप्से घटेसंगै ‘क’ बर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ७५ अंकले घटेको छ । संविधानसभा निर्वाचन सम्पन्न भएसंगै उकालो लागेका शेयर असार मसान्त ताका १ हजार ५० बिन्दुमा पुगेको थियो । शेयर बजारमा आएको गिरावटका कारण लगानी कर्ता निरुत्साहित देखिएका छन् । शेयर विश्लेषकहरुले भने बजारमा देखिएको करेक्सनलाई अस्वभाविक भन्न नमिल्ने बताएका छन् ।