काठमाडौं, १२ पुस ।
पछिल्लो पाँच महिनामा सेयर बजारको आकार पौने ५ खर्ब रुपैयाँ घटेको छ । ठीक पाँच महिनाअघि गत १२ साउनमा नेप्सेले १८ सय ८१ अंकको कीर्तिमानी उचाइ चुम्दा सेयर बजारको आकार (बजार पुँजीकरण) २० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको थियो । सोमबार बजार पुँजीकरण १६ खर्ब २ अर्ब रुपैयाँमा ओर्लियो । यो दिन नेप्से अघिल्लो दिनको तुलनामा ४२ दशमलव ८४ अंक (२ दशमलव ९ प्रतिशत) घटेर १ हजार ४ सय ३२ अंकमा झरेको छ ।
यसबीच सर्वसाधारण सेयरधनीको नाममा सूचीकृत सेयरको कारोबार मापन गर्ने फ्लोट बजार पुँजीकरण पनि १ खर्ब ५० अर्ब घटेको छ । यसरी गत साउनमा कुल गार्हस्थ उत्पादन (जिडिपी)को तुलनामा ८५ प्रतिशत नाघिसकेको सेयर बजारको आकार अहिले ६६ प्रतिशतमा खुम्चिएको छ । छोटो समयमा देखिएको यस्तो उतारचढावले सेयर बजारका धेरै लगानीकर्तालाई समस्यामा पार्ने विश्लेषक बताउँछन् । ‘यसले हाम्रो बजार अझै पनि परिपक्व बनिसकेको रहेनछ भन्ने संकेत गर्छ,’ सेयर लगानीकर्ता दामोदर त्रिपाठीले भने ।
नेप्से परिसूचक ८ महिनायताकै न्यून बिन्दुमा झरेको छ । गत वैशाख ७ मा १४ सय ३० अंकमा बन्द भएको नेप्से भोलिपल्ट १० अंक बढेको थियो । त्यसयता पहिलोपटक नेप्से १४ सय ४० अंकबाट ओर्लिएको हो । यसबीच अघिल्ला तीन महिनामा नेप्से ४ सय ५० अंक बढ्यो र पछिल्ला पाँच महिनामा त्यति नै घटिसकेको छ । नेप्सेले १४ सय ६९ अंकको बलियो टेवा बिन्दु तोडेर ओर्लिसकेको छ । रेखाचित्र विश्लेषणले अब नेप्से १३ सय ५० अंकसम्म झर्न सक्ने देखाएको छ ।
नयाँ पत्रिकाबाट