काठमाडौं, १० भदौ (ओएनएस) : सोमबार ३८ अंकले ओरालो लागेको शेयर बजारमा मंगलवार पनि भारी गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाले गर्ने शेयरको लगानी ३० प्रतिशतबाट १ प्रतिशतमा झार्ने निर्देशन दिएपछि शेयर बजारमा तरंग आएको अनुमान गरिएको छ ।
२५ दशमलव ९८ अंकले घटेर नेप्से मंगलवार ९ सय २१ दशमलव ८६ बिन्दुमा झरेको छ । जलबिद्युत समूहमा ६६ अंकको सुधार आएपनि अन्य सूचक ओरालोलाग्दा समग्र नेप्से नकारात्मक बनेको हो । नेप्से घटेसंगै क बर्गका कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ५४ अंकले घटेर १ सय ९८ बिन्दुमा झरेको छ । यसैबीच, सरोकारवालाले शेयर बजारमा गिरावट आएपनि आत्तिएर शेयर नबेच्न आग्रह गरेका छन् । इन्भेष्टर फोरमले राजधानीमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले राष्ट बैंकले लिएको नीतिका कारण शेयर बजारमा गिरावट आएको भन्दै हतोत्साहित नहुन आग्रह गरेका हुन् ।
कार्यक्रममा अर्थमन्त्रालयका सहसचिव कृष्णप्रसाद देवकोटाले पूजीबजारमा देखिएको समस्याबारे अर्थमन्त्रालयले गम्भीरता पूर्वक अध्ययन गरिरहेको बताए । उनले आबस्यक परे शेयर बजारको बिषयमा अर्थमन्त्रालय बोल्ने बताए । पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले देशको स्थिती र परिस्थितीका कारण बजारमा उतार चढाव आएको बताए । उनले यतिबेला आत्तिएर शेयर नबेच्न साना लगानीकर्तासंग आग्रह गरे ।
इन्भेष्टर फोरमका अध्यक्ष राजकुमार तिमिल्सिनाले नेपाल राष्ट बैकको नीति निर्देशनले प्रभाव पारेको बताए । मौद्रीक नीतिमा आउने कुरा पछि आएका कारण शेयर बजारमा समस्या देखिएको उनले बताए । यस्तो समयमा पनि नियमनकारी निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले प्रतिक्रिर्या नजनाउनु दुखद भएको उनको भनाइ थियो । संविधानसभा निर्वाचन पछि उकालो लागेको शेयर साउको पहिलो साता १ हजार ८४ बिन्दुमा पुगेको थियो ।