श्रम स्वीकृति पुनः खुल्ला

81
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरसका कारण झण्डै चार महिनादेखि बन्द भएको श्रम स्वीकृति पुनः खुल्ला भएको छ ।

नेपालीको श्रम गन्तव्य देशमा कोरोना महामारी सुरु भएपछि गएको फागुन अन्तिमदेखि रोकिएको पुनः श्रम स्वीकृति बिहीबार देखि खुल्ला गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको विभागले जनाएको छ । मन्त्रालयले बिहीबार विभागलाई पत्राचार गर्दै विदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाहरुलाई कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारमा जान श्रम स्वीकृति दिन भनेको छ ।

यसैगरी करार अवधि समाप्त भए पनि पुनः करार नवीकरण गरेका र भिसाको म्याद थप भएका कामदारले आवश्यक कागजातसहित निवेदन दिएका पनि कोभिड १९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकल समेतको आधारमा पुनः श्रम स्वीकृति जारी गर्न विभागलाई पत्राचार गरेको छ ।

विभागले बिहीबारदेखि नै उल्लेखित निर्णय कार्यान्वयन गर्न भनेको छ । मन्त्रालयले वैदेशिक रोजगार कार्यालय ताहाचलसहित वैदेशिक रोजगार हेर्ने सबै श्रम कार्यालयहरुलाई निर्णय कार्यान्वयनका लागि जानकारी गराएको छ ।


  •  
  •  
  •