काठमाडौ, ६ बैशाख : गृहमन्त्री शक्तिबहादुर बस्नेतले कसैले चाहँदैमा मुलुकमा आन्दोलन नहुने दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा मन्त्री बस्नेतले अहिले जनताले कुनै पनि आन्दोलनको औचित्य महसुस नगरेको भन्दै धेरै विषय संविधानले संबोधन गरिसकेको कुरा जनताले बुझेको उनको दावी छ । उनले यस्तो अवस्थामा जनताले कुनै पनि आन्दोलनलाई साथ नदिने बताएका छन् ।
उनले विगतमा पनि मधेसी मोर्चाले निर्णायक भनेर गरेको आन्दोलन त्यसै तुहिएको उदाहरण प्रस्तुत गर्दै कसैले चाहँदैमा आन्दोलन नहुने दावी गरेका छन् । उनले आन्दोलनमा उठेका राजनीतिक विषय राजनीतिक तवरबाट समाधान गर्ने कुरा गरिरहे पनि सरकार मुलुकको शान्ति सुरक्षा र जनताको जिउधनको सुरक्षामा एक छिन पनि उदासिन नहुने स्पष्ट पार्दै सरकार जस्तो सुकै परिस्थितिको सामाना गर्न पनि तयार रहेको बताए ।
गृहमन्त्रीले केही ब्यक्तिले चाहँदैमा सरकार ढल्ने र बन्ने कार्य नहुने दावी गर्दै अहिले सरकार ढाल्नु पर्ने कुनै आवश्यकता नहरेको स्पष्ट पारे । उनले भने, ‘यो सरकारको कार्यान्वयन संविधानको कार्यान्वयन गर्ने, त्यसकोलागि तीन वर्षभित्र कानून निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सस्थागत गर्न निर्वाचन गर्ने हो । संविधानका ब्यवस्था लागु गर्ने हो त्यो यही सरकारले गरेर छाड्छ ।’
उनले संविधान सम्झौताको दस्तावेज भएकोले सबैको सबै कुरा नपर्नु स्वभाविक भएको उल्लेख गर्दै संविधानको मुल चरित्र प्रगतिशिल, जनपक्षीय र अग्रगामी भएकोले कसैको कुनै रिर्जभेसन भए पनि नमान्नु पर्ने कुनै कारण नरहेको दावी गरे । उनले भने, ‘मधेसीले उठाएको जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र समावेशी समानुपातिक प्रतिनिधित्वको माग पुरा भईसकेको छ । अब पनि संविधानको कार्यान्वयन अवरुद्ध पोर्न कुराले राष्ट्रलाई मद्दत गर्दैन । केही बाँकी भए छलफल र संवादबाट समाधान गर्न सकिन्छ म त्यसकोलागि आब्हान गर्छु ।’
उनले मधेसी मोर्चाले उठाएजस्तो सीमांकन पुरै देशको नभई केही क्षेत्रको समस्या मात्रै भएको भन्दै यसमा जनताको एक हिस्साले एउटा र अर्को हिस्साले अर्को कुरा गर्ने गरेकोले यो छलफलबाट मात्रै समाधान गर्न सकिने बताए ।
उनले संविधानको भावना अनुसार मुलुकको आन्तरिक सुरक्षा रणनीति निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी दिदै त्यसको आधारमा आवश्यक कानून निर्माण प्रक्रिया, गृहप्रशासनलाई संघीय संरचना अनुसार पुर्नसंरचना गर्न गठित कार्यदलले पनि काम अन्तिम चरणमा पुर्याएको बताए ।
भूकम्पपछिको पुनःनिर्माणमा भएको ढिलाई अहिलेको सरकारको कारण नभएको दावी गर्दै उनले पुनःनिर्माणको कामले केही बर्ष लिने भएकोले भूकम्प लगत्तै भूकम्प पीडितकोलागि अस्थायी आवासको ब्यवस्था गर्ने निर्णय गर्न नसक्नु कमजोरी भएको दावी गरे ।
उनले पुनःनिर्माणकोलागि दुई तीन वर्ष लाग्ने भएकोले भूकम्प पीडितको अस्थायी सेल्टरको ब्यवस्था गर्ने काम सरकारले अघि बढाईसकेको जानकारी दिए ।
उनले ग्याससहित पेट्रोलियम पदार्थको आपूर्ति सुधारको दिशामा रहेकोले केही दिनभित्रै सुधार कार्यले पूर्णता पाउने विश्वास ब्यक्त गर्दै केही दिनभित्र लाईन बस्नु पर्ने अवस्थाको अन्त्य हुने दावी गरे ।