यस वर्षकाे ‘मितेरी गंगादेवी शान्ती पुरस्कार’शाहीसहित तीन जनालाई

105
  •  
  •  
  •  

काठमाडौं । यस वर्षकाे ‘मितेरी गंगादेवी शान्ती पुरस्कार’ कालिकोटका काली बहादुर शाही, जुम्लाकी गाँडे नेपाली र जुम्लाकै मिनराज शर्मालाई प्रदान गरिएको छ । पुरस्कारको राशी जनही ५ हजार रुपैयाँ रहेको छ ।

अन्तर्राष्ट्रिय शान्ति दिवस र संविधान दिवसको अवसरमा बिहीबार जुम्लामा आयोजित एक कार्यक्रममा एक्सन वक्र्स नेपालले उक्त पुरस्कार वितरण गरेको हो ।

संस्थाका महासचिव सम्झना पौडेलका अनुसार पुरस्कार पाउने कालिकोटका कालीबहादुर शाही एचआईभी संक्रमित हुन् । उनी संक्रमित भएको समयमा कालिकोटका एचआईभी संक्रमितले वा त धनगढी, या त सुर्खेत गएर औषधी खानुपर्ने बाध्यता थियो । त्यही बाध्यतालाई महसुस गरेका उनको पहलमा कालिकोटमै एचआईधीको औषधी खाने व्यवस्था गरिएको छ ।

जुम्लाकी गाँडे नेपाली महिला स्वास्थ्य स्वयम्सेविका हुन् । ६३ वर्षीया दलित समुदायकी उनी महिला र बालबालिकाको स्वास्थ्य सुधारका लागि निरन्तर लागि पर्दै आएकी छन् ।

यस्तै पुरस्कृत हुने जुम्लाकै मिनराज शर्मा शिक्षा क्षेत्रमा क्रियाशील व्यक्ति हुन् । जिल्लाकै सरकारी विद्यालयका प्राधानाध्यापक उनले विद्यालयको स्तरोन्तीका लागि सहयोग रकम जुटाएर काम गरेका छन् ।

एक्सन वक्र्स नेपालका संस्थापक अध्यक्ष तथा अभियन्ता राधा पौडेलको पुस्तक ‘खलंगामा हमला’ ले २०७० सालमा मदन पुरस्कार पाएको थियो ।

उक्त पुरस्कार राशीमा एक लाख थपेर पौडेलले आफ्नी आमा गंगा र बुबा देवी पौडेलको सम्झनामा पुरस्कार कोष स्थापना गरेकी थिइन् । उक्त व्याजबाफत आउने रकमलाई पुरस्कार स्वरुप प्रदान गरिँदै आइएको छ ।

संस्थाले स्थानीय स्तरमा शान्ति स्थापनाका लागि योगदान पुर्‍याउने व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
संस्थाले उक्त पुरस्कार यसअघि अछामकी मथुरा कुँवर, जुम्लाका सरोज शाही, जुम्लाका चैते गिरी, पर्साका अकवाल अन्सारी, लमजुङका पदमावती लिम्बु, सिन्धुपाल्चोकका सीताराम श्रेष्ठ, जुम्लाका देवीकन्या आचार्य, मुगुका चित्रबहादुर मल्ल, बैतडीका कालु चन्द र बाराका सुगन्धी पासवासनलाई प्रदान गरिसकेको छ । पुरस्कारको छनोट मितेरी गंगादेवी शान्ती पुरस्कारको सचिवालयले गर्दै आएको छ ।


  •  
  •  
  •