प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी

99
  •  
  •  
  •  

काठमाडौं, १३ असोज (ओएनएस) : सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश रामकुमारप्रसाद साहलाई प्रधानन्यायाधीशमा नियुक्ति नगर्न दुई उजुरी परेका छन् ।

काठमाडौंको सुन्धारास्थित धरहराको पश्चिमतर्फको जमिनका सम्बन्धमा न्यायाधीश साहसहितको तीन सदस्यीय इजलासले गरेको निर्णयमा टीकाटिप्पणी भएको र पुनरावलोकनका लागि हाल पाँच सदस्यीय पूर्ण इजलासमा पेस भएकाले उनलाई प्रधानन्यायाधीशमा सिफारिस नगर्न दुईजनाले छुट्टाछुट्टै निवेदन दर्ता गराएको संसदीय सुनुवाइ विशेष समितिले जनाएको छ ।

सय वर्ष अघिदेखि मुसलमान समुदायले भोगचलन गर्दै आएको कित्ता नं. ५२ को ६ आना एक दाम दुई पैसाको सो सरकारी जग्गा झुटा व्यहोराको आधारमा व्यक्तिविशेषले गैरकानुनी रूपले दर्ता गरेका कारण दायर मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतमा पुगेको थियो ।
सो मुद्दामा सुनुवाइ हुँदा तीन सदस्यीय इजलासमा मत बाझिएका कारण सम्बन्धित कानुन व्यवसायीले पाँच सदस्यीय पूर्ण इजलासबाट सुनुवाइ गर्न माग गरेपनि न्यायाधीश साहसहितको तीन सदस्यीय इजलासले पक्षपात गरी बहुमतका आधारमा व्यक्तिविशेषको हुनेगरी फैसला गरेको आरोेपमा उल्लेख छ ।
मन्त्रिपरिषद्को हालैको बैठकले वरिष्ठतम न्यायाधीश साहलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेकाले संसदीय सुनुवाई हुनुअघि सो समितिले सोमबारको बैठकमा ती उजुरीमाथि आन्तरिक छलफल गर्नुका साथै सम्बन्धित उजुरीकर्तासँग सोधपुछ पनि गर्ने छ ।

  •  
  •  
  •