यौन दुर्व्यवहारको बदलिँदो रूप

बालक पनि यौन दुर्व्यवहारको शिकार
368
  •  
  •  
  •  

काठमाडौं, २३ असार (ओएनएस) : ललितपुरका सुरेश (१८) लाई सानैदेखि कलाकारिताप्रति मोह थियो । बुबाआमा नहुँदा अनाथालयमा बस्दै आएका उनले सोचेका थिए- कुनै दिन कलाकार बन्छु ।’

जब निजी क्षेत्रकाे कम्पनीले मोडलको खोजी गरिरहेको जानकारी फेसबुकबाट थाहा पाए, हिँडिहाले । तर, उनको यो खुसी धेरै बेर टिकेन । अन्तर्वार्ता दिन हिँडेका सुरेशलाई अन्तर्वार्ताकारबाट अनौठो प्रस्ताव आयो ।

त्यो दिन सम्झदै सुरेश भन्छन्, ‘म तिमीलाई मोडलका लागि छनोट गर्छु तर तिमीले म र मेरो साथीसँग ग्रुप सेक्सको लागि एक रात बिताउनुपर्छ’ भनेपछि छाँगाबाट खसेको जस्तो महसुस भयो ।’

उनी अहिलेसम्म अनुत्तरित छन् आँखिर मलाई नै किन यस्तो अफर गर्‍याे ? के केटा मान्छेलाई पनि यस्तो पर्छ ? केटा मान्छे पनि यौन दुर्व्यवहारमा पर्छन ? अनि सुरेशको मोडल सपना पनि त्यहीँबाट अन्त्य भयो । ‘यौन दुर्व्यवहार केटीलाई मात्र हुन्छ भन्ने सुनेको थिएँ तर मलाई नै यस्तो आइलाग्यो,’ उनी भन्छन् । दिदीसँग सल्लाह गरेर निर्णय दिन्छु भनेर बाहिर निस्किएका उनी त्यसपछि सम्पर्कमा गएनन् ।

‘मलाई यौन दुर्व्यवहार हुँदा पनि कसैलाई बताउन सकेन,’ उनी भन्छन्, ‘अरुलाई सुनाएर पनि के गर्नु उल्टै गाली गर्लान भन्ने डरले बसिरहे । पटक-पटक दुर्व्यवहारमा परिरहे।’

बालबालिकाको क्षेत्रमा कार्यरत संस्था साथ–साथकी कविताराज्य शाह अहिलेको बदलिदो स्वरुपसँगै बालबालिकामाथि हुने दुर्व्यवहारकाे शैली फेरिएको बताउँछिन् । भन्छिन्, ‘अहिलेको अवस्थामा बालबालिकालाइ छोएर मात्र यौन दुर्व्यवहार हुँदैन। प्रविधिको दुरुपयोग गरेर बालबालिकामाथि यौन दुर्व्यवहार भइरहेको हामी पाउछौँ । बालिका मात्र नभएर बालक पनि यौन दुर्व्यवहारमा पर्दै आइरहेका घटना अहिले विस्तारैविस्तारै बाहिर आउन थालेका छन् ।’

यौन दुर्व्यवहारको शिकार बालिका, किशोरी हुने गरेकोमा पछिल्लो समय बालक तथा किशोरमाथि पनि यस्ता घटना बढिरहेको पाइन्छ । आफन्त, नातेदारको पनि विश्वास गर्न सकिँदैन । यौन दुर्व्यवहारको कुरामा हामी आफन्त या नातेदारको कुरामा पनि धेरै कमजोर छौँ । यो मेरो यो सम्बन्ध भएको व्यक्ति हो भनेर यो सवालमा वश्वास गर्न मिल्ने रहेनछ भन्ने कुरा उनको घटनाबाट प्रमाणित हुन्छ ।

‘आफ्ना छोराछोरी के गरिरहेका छन् संगत कस्तो छ भनेर ख्याल गर्न जरूरी छ । बुवाआमाले गर्ने व्यवहारबाट पनि छोराछोरीहरू असुरक्षित हुने गरेका धेरै घटनाहरू छन्,’ शाह भन्छिन्, ‘बुबा आमासँगको विश्वास नै कायम हुन नसकेपछि उनीहरु आफना दुखःपीडा अभिभावलाई भन्न सक्दैनन् झन पीडामा पर्छन ।’ कहिकतै कहिल्यै पनि कसैबाट उनी सुरक्षित हुन सकेनन ।

कुमार क्षेत्रीको जीवनमा आइलागेको घटना कहालीलाग्दो छ । छिमेकीकोमा आएको पाहुनाबाट यौन दुर्व्यवहारमा परेका उनी बालबालिकाको हुर्काइमा आमाबुवा दुबैको उत्तरदायित्व- जिम्मेवारी बराबरी हुनुपर्ने बताउँछन् । आर्थिक अवस्था कमजोर भएका कारण आमाले कलिलै उमेरकाछोराछोरीलाई छाडेर विदेशिनु पर्‍याे । त्यहीमाथि उनका बुवा सधैँ रक्सी खाएर बस्ने र छोराछोरीको वास्ता नगर्ने । ‘मलाई यौन दुर्व्यवहार हुँदा पनि कसैलाई बताउन सकेन,’ उनी भन्छन्, ‘अरुलाई सुनाएर पनि के गर्नु उल्टै गाली गर्लान भन्ने डरले बसिरहे । पटक-पटक दुर्व्यवहारमा परिरहे।’

त्यो घटना पछि उनमा मानसिक परिर्वतन आयो । डराउने, राती निन्द्रा नलाग्ने, मनमा धेरै कुराहरु खेल्ने, टोलाउने जस्ता मनोबैज्ञानिक समस्या देखापर्‍याे, जसकारण पढाइलाई पनि निरन्तरता दिन सकेनन् ।

 ‘दुर्व्यवहारकाे रूप बदिलिएको छ, छोएर यौन क्रियायाकलापमा सहभागी भएर भन्दा पनि अनलाइनको सहयोगमा दुर्व्यवहार गर्नेको सख्यामा वृद्धि भएको छ।’

१८ वर्षीया तृप्तीको घरमा आफ्ना कुरा सहज रुपमा राख्ने वातावरण थिएन । कतिसम्म भने एसइइपछि विज्ञान संकायमा भर्ना भइन ।आफ्नो रुची नहुँदा पनि विज्ञान पढिरहेकी उनको फिजिक्स विषयको रिजल्ट बिग्रदा पनि ‘म विज्ञान पढ्न सक्दिन’ भनेर भन्न सकिनन्। र, सोही विषय पढिरहिन ।

फेसबुकमार्फत् एक २० वर्षीय युवकसँग चिनजान भयो । उनीहरु च्याटमार्फत नजिकिए। ती युवकले गुगल एकाउण्टको पासवर्ड माग्दा उनले विश्वास गरिन । र, दुबैले एकअर्काको सामाजिक सञ्जालको पासवर्ड दिए । घटनाले मोड लिए । उनी भन्छिन्, ‘मेरो फोटो मलाई नै पठाएर ‘यदि मैले यो फोटो युज गरेर तिमीलाई ब्ल्याकमेल गरेँ भने के गर्छौ ?’ भनेर पठायो । मेरो दिमागले केही पनि सोच्न सकेन, दिमाग खाली भयो ।’

स्लीभलेस कपडा लगाउदा उनलाई साथीहरुले जिस्काउथे । कारण उनको शरीरमा भएको दाग देखिन्थ्यो । ‘मैले शरीरमा भएका दाग भएको फोटो अर्धनग्न रहेको अवस्थामा खिचेर गुगल एकाउन्टमा राखेकी थिएँ, जुन फोटोले मलाई नै ब्ल्याकमेलिङ भयो,’ उनी भन्छिन् ।

ती युवकले तृप्तीलाई अनौठो र्शत तेस्याए । ‘उसले भिडियो च्याटमा लाइभ नाङ्गिन बाध्य बनायो । उसले जति बेला चाह्यो । त्यही बेला अनलाइन आउनु पर्दथ्यो,’ आफूमाथिको बज्रपात सझिन्छन् तृप्ती। घटना त्यतिमै सकिएन । यौन सम्बन्धका लागि प्रस्ताव राखेर नमाने फोटो र भिडियो इन्टरनेटमार्फत सार्वजनिक गरिदिन्छु भनेर धम्काउन थालेपछि उनले प्रहरीमा ठाडो उजुरी दिइन । प्रहरीको सहयोगमा पीडकलाई सम्पर्क गरी कानुनी प्रकृयाको बारेमा जानकारी गराउदा अहिले उनलाई दुव्यवहार गर्न रोकिएको छ ।

साथ–साथले १२ देखि १८ वर्ष उमेर समूहका १०० जना बालबालिकासँग नमूना सर्वेक्षण गरेकोमा ९५ प्रतिशत बालबालिका फेसबुक, म्यासेन्जर, इन्स्ट्राग्राम, भाइबरमा सक्रिय हुने गरेको पाइएको छ। त्यसमा पनि ४३ प्रतिशत बालबालिकाहरूले १ देखि ३ घण्टा सम्म समय बिताउने गरेका छन्। त्यस्तै, ३१ प्रतिशत बालबालिकाले व्यक्तिहरूबाट सामाजिक सञ्जालमा अश्लिल फोटो, भिडियो, सन्देश आदिको सामना गर्नु परेको पाइएको छ । दुव्र्यहारमा परेपछि उजुरी प्रक्रियाको बारेमा ३२ प्रतिशतलाई केही थाहा नभएको, ४२ प्रतिशतलाई केहि हदसम्म थाहा भएको, १५ प्रतिशतलाई भने थाहा भएको पाइएको छ।

साइबर ब्यूरो भोटाहिटीका प्रहरी निरीक्षक प्रदिन ताम्राकार नचिनेको व्यक्तिसँग सामाजिक सञ्जालमा साथी बन्ने र अस्लिल क्रियाकलापका लागि दवाव दिने गरेको घटना बढिरहेको बताउँछन् । भन्छन्, ‘दुर्व्यवहारकाे रूप बदिलिएको छ, छोएर यौन क्रियायाकलापमा सहभागी भएर भन्दा पनि अनलाइनको सहयोगमा दुर्व्यवहार गर्नेको सख्यामा वृद्धि भएको छ।

अपराध महाशाखाको पछिल्लो साढे तीन वर्षको तथ्यांक हेर्दा पनि विद्युतीय कारोबारसम्बन्धी घटनाबाट ४ हजार ८ सय ३९ पीडित भएका छन् । यो तथ्यांक २०७२-०७३ देखि ०७५ मंसिरसम्मको हो ।

कसैले सामाजिक सञ्जाल, इमेल, इन्टरबाट दुव्र्यवहार गरे वा गालीगलौज जस्ता क्रियाकलाप गरेमा विद्युतीय कारोबारसम्बन्धीका उजुरीका लागि केद्रीय अनुसन्धान ब्यूरो, साइबर ब्यूरो भोटाहिटी, साईबर क्राईम युनिट, महाराजगञ्ज वा महानगरीय प्रहरी, अपराध अनुसन्धान महाशाखा, साईबर क्राईम युनिट टेकु क जानुपर्छ । त्यो बाहेक जिल्ला प्रहरी कार्यालयको माध्यमबाट प्रहरी प्रधान कार्यालय उजुरी दिन सकिने प्रहरी निरीक्षक ताम्राकार बताउँछन् ।

अधिवक्ता कपील अर्याल डरत्रास, छलछाम, धोका, बल वा शक्तिको प्रयोग गरेर भए पनि बालबालिका तथा किशोरकिशोरमाथि यौन दुव्र्यवहार हुने गरेको बताउँछन् । बालबालिकालाई त ललाई फकाई पनि दुव्र्यवहार गर्ने गरेको पाइन्छ । तर, बालबालिकाको सहमतिमा पनि त्यस्तो गर्न पाइँदैन । मुलुकी ऐनको ९ को दफा ९क० मा कसैले नाबालकसँग अप्राकृतिक मैथुन गराएमा जबरजस्ती करणी गरेको ठहर गरेको छ ।

१० वर्षभन्दा मुनिको बालबालिकालाई करणी गरेमा १० देखि १५ वर्षसम्मको कैद, १० वर्षदेखि १४ वर्षसम्मकोलाई करणी गरेमा ८ देखि १२ वर्षसम्म कैद, १४ देखि १६ वर्षसम्मकालाई करणी गरेमा ६ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था कानुनले गरेको छ। नाबालकको उमेर र उसलाई पुग्न गएको क्षतिको समेत विचार गरेर क्षतिपूर्ति भराउने व्यवस्था छ।

प्रहरीले हाल विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाउने गरेको छ । तर, साइबर क्राइमको प्रवृत्ति परिवर्तन भइरहेका बेला सरकारले नयाँ ऐनका लागि सूचना प्रविधि विधयक अगाडि बढाएको छ ।

हाल संसदीय समितिमा छलफलको क्रममा रहेको विधेयकमा ‘कसैले विद्युतीय प्रणालीको प्रयोग गरी अर्को व्यक्तिलाई निरन्तर रूपमा हैरानी गर्ने, जिस्क्याउने, होच्याउने, हतोत्साहित गर्ने, अपमान गर्ने वा हप्काउनेजस्ता कार्य गर्न/गराउनु हुँदैन उल्लेख छ।’ यसमा कसुरको मात्रा हेरी १० लाखसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको प्रस्ताव गरिएको छ । तर, संसदीय उपसमितिले आफ्नो प्रतिवेदनमा जरिवानालाई ५० हजारसम्म र कैदलाई ६ महिनासम्म झार्न सुझाएको छ ।

तर, विद्युतीय प्रणालीमार्फत यौनजन्य दुर्व्यवहार गरे वा प्रलोभनमा पार्ने, धम्की दिनेजस्ता काम गरेमा ५ वर्षसम्म कैद वा २ लाख जरिवाना वा दुवै सजायको प्रावधान प्रस्ताव गरिएको छ ।

(नोट : गोपनियताका लागि पीडितहरूको नाम परिवर्तन गरिएको छ)


  •  
  •  
  •