अपहरण, बलात्कार र गर्भपतनको दुष्चक्रमा आतंककारी संगठनका यौनदासीहरू

513
  •  
  •  
  •  

islamic_state_womanकाठमाडौँ, १ चैत्र (एजेन्सी) : चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) का नेताहरूले यौनदासी राख्ने गरेको पत्ता लागेको छ । समाचार अनुसार, निहत्था महिला तथा बालिकाहरू सुरुमा अपहरण गरिन्छन् । त्यसपछि उनीहरूमाथि बलात्कार गरिन्छ । एउटाको बलात्कार सहेपछि पालैपालो अरू लडाकूलाई सुम्पने गरिएको पत्ता लागेको छ । गर्भ बसेमा उनीहरूको इच्छाविपरीत नै तुहाउने र फेरि यौनबजारमा बेच्ने गरिएको समेत तथ्य उजागर भएको छ ।

यौनदासीहरूमा गर्भ नरोस् भनेर विभिन्न तरिकाका गर्भनिरोधक उपाय दिने गरेको समेत पत्ता लागेको छ । न्युयोर्क टाइम्सका अनुसार, इराकमा आईएसबाट भागेका ३५ जनाभन्दा बढी महिलासँगको अन्तर्वार्तापछि यो कुरा पत्ता लागेको हो ।

यौनदासीलाई आईएसले खाने औषधी, खोप वा कहिलेकाहीँ दुवै उपायको प्रयोग गर्न बाध्य पार्ने गरिएको खबर छ । महिलालाई गर्भवती नबनोस् र एकभन्दा बढी लडाकूलाई सुम्पन सकियोस् भन्नका लागि यस्ता उपाय गरिएको अनुसन्धानको निष्कर्ष छ ।

islamic_state
तस्बिरहरू : बीबीसी हिन्दी

केही गरी गर्भ बसेमा जबरजस्ती तुहाउने गरिएको पनि ती महिलाहरुले बताएका छन् । सम्पर्कमा आएका महिलामध्ये एउटीले आफू बाध्य भएर गर्भपतन गराउन पुगेको र अरू पनि केही महिलामाथि यस्तै बाध्यता लादिएको देखेको बताएकी छन् ।

आईएसले यौनदासीका रुपमा प्रयोग गरेका करिब ७ सय जना बलात्कृत महिला आफ्नो सम्पर्कमा आएको एकजना स्त्रीरोग विशेषज्ञले जानकारी दिएको समेत न्युयोर्क टाइम्सले लेखेको छ । यीमध्ये ५ प्रतिशत गर्भवती थिए ।

संयुक्त राष्ट्रसंघ लगायत मानवअधिकारवादी संगठनहरूका अनुसार, आईएसले सुनियोजित तरिकाले निहत्था महिला एवम् कम उमेरका बालिकाहरूको अपहरण गर्दै आएको छ । यसका पछाडि पनि यौनदासीको रुपमा प्रयोग गर्ने उद्देश्य लुकेको हुन सक्ने आशंका छ । १२ वर्षका नानीहरूमाथि समेत आईएस लडाकूहरुले बलात्कार गरेका घटनाहरु सार्वजनिक भएको एजेन्सीहरुले उल्लेख गरेका छन् ।

सन् २०१४ मा आईएसले महिला तथा पुरुष यजिदीहरू नियन्त्रणमा लिएको थियो, जसमध्ये २ हजार भाग्न सफल भएको बीबीसी हिन्दीले लेखेको छ ।


  •  
  •  
  •