डुबाए आफन्तले

132
  •  
  •  
  •  

काठमाडौं २७ भदौ ।
बाबु बिते, आमा अर्कैसँग गइन्। त्यसपछि धनकुटाको हिलेमा आफन्तसँग बस्थिन् रीमा। नाताले सानीआमा पर्नेको होटलमा भाँडा माझ्थिन्। एकदिन सानीआमाले राम्रो होटलमा काम लगाइदिने भन्दै धरान ल्याइन्। हिलेको गाडीमा धरान आएपछि दुई पुरुष उनलाई लिन आए। सानीआमासँग के–के गफ गरेपछि रीमालाई लिएर उनीहरू इटहरीतिर लागे।

सानीआमा हिले फर्किन्। त्यसपछि रीमालाई इटहरीको एक क्याबिन रेस्टुरेन्टमा पुर्‍याइयो। सुरुमा सरसफाइ गर्ने, भाँडा माझ्ने काम गरेँ। बिस्तारै कोठामा ग्राहकलाई बियर पुर्या्उन लगाए, त्यसपछि ग्राहकसँग ‘सुत्न जा’ भन्न थाले। नमान्दा जबर्जस्ती गरे,’ प्रहरीको फन्दामा परेकी उनले आफ्नो कथा सुनाइन्।सीमाको कथा पनि उस्तै छ। इटहरीमा रेस्टुरेन्ट चलाउने फुपूले उनलाई सघाउन बोलाइन्। बिस्तारै फुपूले उनलाई ‘ग्राहक सुखी बनाउने काम’ लगाइन्।

पूर्वको यौनअखडाका रूपमा परिचित इटहरीमा यौनधन्दामा लागेका अधिकांश युवतीहरूका कथाव्यथा यस्तै छन्। अधिकांश युवती काकी, फुपु, सानीआमाजस्ता नाताबाट यौनधन्दामा लागेको पाइएको इटहरी प्रहरीका डीएसपी विनोद शर्मा बताउँछन्। उनका अनुसार यौनधन्दा चलाउने महिलाले गाउँबाट आफ्नो नाता पर्ने युवतीलाई ल्याएर सामान्य काममा लगाउने र बिस्तारै त्यहाँको वातावरणमा भिजेपछि यौनधन्दामा लगाउने गरेको पाइएको छ। ‘अनुसन्धान गर्दा इटहरी र तरहरा क्षेत्रमा मुख्यगरी आठ जनाका कारण यो धन्दाले जरा गाडेको रहेछ,’ डीएसपी शर्माले भने, ‘उनीहरूलाई पक्राउ गरेपछि अधिकांश यौनकर्मी उनीहरूका नाता पर्ने गरेको पाइयो।’

आफन्त पर्नेकैमा यौनधन्दा चलाएपछि सञ्चालक र यौनकर्मी दुवैलाई सजिलो हुने गरेको प्रहरीको भनाइ छ। कसैले सोधखोज गरे आफ्नै मान्छे हो भनेर जोगिन सकिन्छ भने घरपरिवारले पनि धेरै वास्ता गर्दैनन्। यौनधन्दामा लाग्ने धेरैजसो अविवाहित हुन्छन्।

इलाका प्रहरी कार्यालय इटहरीको रेकर्डअनुसार इटहरीमा ७ सय ५५ जना युवती यौनकर्मीका रूपमा काम गर्थे। यौनधन्दा सञ्चालन गर्ने होटलका सञ्चालकहरूलाई इटहरी प्रहरीले पक्राउ गरी कारबाही चलाएपछि जिल्ला अदालत सुनसरीले ओम गजलकी सञ्चालिका राधा तामाङ महर्जन, भेटघाट होटलकी राधा आचार्य प्रधान, पारिजात होटलकी ज्ञानु राई, सपना होटलकी सपना शाक्य, बागमारे होटलकी सरु भनिने सावित्री भण्डारी र राहुल होटलका सञ्चालक मनोज चौधरीलाई पुर्पक्षका लागि जेल चलान गरेको छ। प्रहरीले यौनकर्मीलाई वैकल्पिक पेशामा लगाउन १३ जनालाई संघसंस्थाको सहयोगमा सिलाइकटाइ तालिम दिएको छ।

करिब ४५ जना यौनकर्मी माइती र घर दुवैपक्षबाट बहिष्कृत भएकाले अहिले पूर्वमै लुकेर बसेका छन्। मौका पाउनासाथ उनीहरू फेरि यौनधन्दामा फर्किने भएकाले प्रहरीले रेकर्ड राखेको डीएसपी शर्माले बताए। इटहरीमा जस्तै धरानमा पनि प्रहरीले कडाइ गरेपछि धरान–६ स्थित वडा प्रहरी कार्यालय अगाडि नै वर्षौंदेखि यौनधन्दा चलाउने चुम्लुङ रेस्टुरेन्ट सञ्चालिका दिलु वनेम सुब्बालाई प्रहरीले पक्राउ गरी हाल जेल चलान गरेको छ।

धरान–१२ चतरालाइनको दिक्तेल होटल बन्द भएको छ। अझै चतरालाइन, शान्तिपथ लाइन र धरान–७ का केही रेस्टुरेन्टमा यौनधन्दा हुने गरेको भन्दै प्रहरीले निगरानी बढाएको छ। इलाका प्रहरी कार्यालय धरानका डीएसपी सञ्जयसिंह थापा चतरालाइनका धेरैजनालाई पक्राउ गरी आइन्दा यस्तो नगर्ने शर्तमा छाडिएको बताउँछन्। ‘धरानमा यौनधन्दा बन्द गर्नुपर्छ भनेरै लागिपरेका छौँ,’ उनले भने। नागरिक शुक्रबारबाट

आफ्नैले धकेले धन्दामा


  •  
  •  
  •