एउटा कल गर्लसँगको एकान्तबास

410
  •  
  •  
  •  

हामी दरबारमार्गको महँगो रेस्टुरेन्टमा छौँ। त्यहाँ यौनधन्दाको बार्गेनिङ हुन्छ भनेर धेरैले पत्याउँदैनन्। काठमाडौँ जति एडभान्स्ड हुँदैछ, त्यति नै यहाँको यौनबजार पनि। यो देशको सरकारी क्षेत्रको उच्च ओहदाका कर्मचारी रहेका मेरा दाइ (जो साथी पनि हुन्) ले वेटरसँग निर्धक्क वार्तालाप गरे।

ग्राहक (हामी): सामान (केटी) छ ?
वेटरः थोकमा(पूरै रात), खुद्रामा (दुई घण्टा), सस्तो/महँगो कस्तो सामान चाहियो ?
हामीः मलाई होइन, अर्कै भाइका लागि हो। अल्लारे केटो छ, थोकमा धान्दैन। खुद्रामा भए हुन्छ। महँगो कतिसम्मको हो ?
वेटरः दुई हप्ताअघि हजुरलाई छ हजारमा मिलाइदिएको थिएँ नि। सामान त्यही हो। खुद्रामा हो भने चार हजारमा मिलाइदिन सकिन्छ।
दाइले त्यो वेटरलाई कुनामा लगेर भनेछन्, ‘कलेज जाने केटो हो। त्यो पनि महँगो भयो। उसलाई ड्रिंक सर्भ गर्नुपर्दैन। २५ सयमा मिलाइदेऊ न त।’
‘उसले तीन हजार नछाड्ने भयो। पाँच सय पनि खान पाइएन भने के मिलाउनु भन्छ। के गरौँ भाइ,’ ती दाइले सल्लाह मागे। मैले ओके गरिदिएँ।
०००
पहेँलो टिसर्ट लगाएको मान्छे।
मेरो हुलिया पहिल्यै थाहा पाएकाले चिन्न गाह्रो भएन उसलाई। मैले फोन उठाउनै नपाई अधबैँसे महिला ‘जुस लिन आएको तिमी हैन ?’ भन्दै आई। ‘जुस लिने’ भनेको कोड भाषा हो। जुन मलाई पहिल्यै जानकारी गराइएको थियो। टाउको हल्लाएपछि गाडीमा चढेँ। गाडी अष्टनारायण हलको गल्लीबाट भित्र छिर्‍यो। यो बीचमा मलाई जानकारी गराइयो, ‘ढोकामा मैले तीनपटक ट्वाक, ट्वाक, ट्वाक हान्नुपर्नेछ। तीनपटक ढकढक्याउनु आजको कोड हो। मैले ‘खुद्रामा सामान’ लिने भएकाले दुई घण्टा मेरो अधिकतम समय हो। त्योभन्दा बढी बसेँ भने घण्टाको पाँच सय थप चुकाउनुपर्नेछ। फ्ल्याट नं २ को तेस्रो कोठामा मैले तीनपटक ढकढक्याएँ। ढोका खुल्यो, कलिली गोरी केटीले मीठो मुस्कानसहित स्वागत गरी। उसले हात मिलाउँदै भनी, ‘जस्मिन।’ मैले आफ्नो नाम ढाँटेँ। उसले पनि कहाँ असली नाम भनिहोली र !
‘तातो, चिसो के लिने,’ औपचारिक रूपमा अतिथि सत्कार गरी। ‘के खुवाउँछ्यौ ?’ मैले भनेँ। ‘चिसोमा बियर र कोक, तातोमा म आफैँ,’ मस्त हाँसी ऊ। मलाई गर्मी भएको थियो, वातावरणका कारण भन्दा पनि ऊसँग हुने सम्भावित ‘कर्म’बाट जोगिएर आफ्नो काम कसरी फत्ते गर्ने भनेर। रोजाइमा कोकाकोला पर्‍यो। म सोफामा बसेँ, ऊ खाटमा थिई। रातो गाउनमा उसको जवानी खुलेको थियो। अन्तरवस्त्रविहीन भएको प्रमाणस्वरूप पुष्ट वक्ष स्वतन्त्रतापूर्वक चलमलाइरहेका थिए। त्यो समय उसलाई हेर्ने जुनसुकै पुरुष पनि कोकले नधान्ने गर्मी महसुस गर्न सक्थ्यो। मलाई सरसर्ती हेरेर भनी, ‘गर्लफ्रेन्ड छैन ?’ मैले भनेँ, ‘भएको भए यहाँ किन हुन्थेँ।’ उसले पत्याइन। मैले उसलाई जिस्काउन चाहेँ, ‘तिम्रो ब्वाइफ्रेन्ड छैन ?’ उसले सजिलै भनी, ‘फुलटाइम एउटा छ।’
पार्टटाइम नि ?
‘पाँचजना एकहप्ते छन्, अरू यस्तै आक्कलझुक्कल,’ ऊ निस्फिक्री बोली।
कथा सुनाई– स्कुटर किन्ने लोभले बैँसको पसल थापेको। एसएलसीमा ७२.३८ प्रतिशत ल्याएकी ऊ कसरी यो पेशामा आबद्ध भएकी थिई भन्ने कुरा। त्यो मैले ‘शुक्रवार साप्ताहिक’ पत्रिकामा जस्ताको तस्तै उतारेँ। उसको कथा ‘एडभान्स्ड सेक्सबजार’ भन्ने रिर्पाेटिङको एउटा पाटो भयो।
०००
अघिल्लो शनिवार बिहान भर्खरै उठेर पत्रिका पढ्दै थिएँ। अपरिचित नम्बरबाट फोन आयो, ‘सर गुड मर्निङ।’
‘गुड मर्निङ, को बोल्नुभयो ?’ आवाज चिनेको जस्तो लागे पनि ठम्याउन सकिनँ।
‘इट्स जस्मिन, कल गर्ल भने पनि भो,’ बिनाहिचकिचाहट बोली। ‘मैले पत्रिका पढेँ, धेरैले फोन गरे। ग्राहकले त गाली गरे। पत्रकार र पुलिससँग कहिल्यै सत्य नबोल्नू र संगत नगर्नू भने,’ ऊ एकोहोरो बोलिरही, ‘तर, तपाईंको लेखमा धेरै कुरा आएनन्।’
‘फेरि रिपोर्टिङ गर्छु। सहयोग गर्ने हो त ?’ मेरो प्रतिक्रिया थियो। ‘मृगले बाघलाई शिकार खोज्न सघाएको देख्नुभएको छ,’ उसको प्रतिप्रश्न सुनेर म छक्क परेँ। उसले भेट्ने इच्छा दर्साई। मैले सहमति जनाएँ।
मनमा अनेकथरी शंकाहरू पानीका फोकाजस्तै निस्किन थाले। डर पनि लाग्यो, शहरका भव्य घरका फ्ल्याटमा निर्धक्क यौवनको पसल थापेर मालामाल भइरहेकाहरूले उसलाई परिचालन गरेका त होइनन्। मैले उसले भेटौँ भनेको ठाउँ परिवर्तन गरेँ। दरबारमार्गमा भर्खरै खुलेको मायालु सेन्टरमा रहेको कफीसपमा बोलाएँ।
ऊ भनेकै ठाउँमा आई। मलाई भेट्न खोज्नुको कारण सोधेँ।
‘म यो पेशा छाड्ने भएँ,’ उसले चुरोटको धुवाँ छाड्दै भनी, ‘तपाईंले मैले भुलेको जिन्दगी सम्झाइदिनुभयो। घरपरिवार, आफन्त, साथीभाइ सबै भुलिसकेकी थिएँ। मैले अर्कै जीवन जिइरहेकी थिएँ। त्यो राति निद्रै परेन। अनेकथरी कुरा खेलाएँ। अब धेरै दिन यसरी नबस्ने टुंगोमा पुगेँ। आँखा सुनिने गरी आँशु पनि बहेछन्।’
म ‘सक्ड’ भएँ। उसको कुरामा विश्वास गर्नै सकिनँ। सोधेँ, ‘के गछ्र्याै अब ?’ निकै बेर बोलिन ऊ। चुरोटको ठुटो निभाउँदै भनी, ‘त्यो त मलाई पनि थाहा छैन। तर, अब यो पेशा गर्दिनँ।’
ऊ सुन्दर थिई। पोर्नस्टार सन्नी लियोनलाई भारतीय फिल्म क्षेत्रले रेड कार्पेट ओछ्याइरहेको छ। मैले उसलाई पनि डान्स र अभिनय सिकेर यतातिर लाग्न सुझाएँ। उसले तुरुन्तै अस्वीकार गरी, ‘त्यहाँ त इज्जतै छैन।’ उसले स्पष्ट पार्दै गई, ‘म अहिले के गर्छु, कसैलाई थाहा छैन। तर, फिल्म क्षेत्रमा आएँ भने सबैलाई थाहा हुन्छ।’ उसले केही फिल्ममा संघर्ष गर्दै गरेका युवतीको नाम लिई, ‘तिनीहरू मेरा साथी हुन्। पैसा नदिई काम लगाउँछन् भन्थे।’
उसले भनी, ‘म केही अरू नै गर्न चाहन्छु। मसँग ४०/५० लाख रुपैयाँ जति बचत छ। आइडिया छ भने दिनुहोला।’
ऊ जाँदाजाँदै मैले सोधेँ, ‘मलाई आइडिया फुर्‍यो भने कसरी भन्ने ?’
उसले आफ्नो उही रोमान्टिक शैली दोहोर्‍याउँदै अहिले फेसबुकमा धेरैले लेखिरहेका स्ट्याटसजस्तै बोली, ‘अखडामा त जो पनि पुग्छ, पत्रकारले अन्त खोज्न सक्नुपर्‍यो नि।’ हाँस्दै थपी, ‘आफैँ फोन गर्छु।’
मैले उसलाई नयाँ जिन्दगी सुरुवातको शुभकामना दिएँ, ‘गुड लक जस्मिन।’ त्यो समय बिस्तारै अँध्यारोले कब्जा जमाउन खोज्दै थियो। जेब्राक्रसिङबाट पारि गइरहेकी जस्मिन भने जीवनको अँध्यारोबाट उज्यालोतिर गइरहेको अनुभव गरेँ। धनबहादुर खड्का /नागरिकबाट


  •  
  •  
  •