काठमाडौं २ पुस ।
पतिले अर्को बिहे गरेर आफूलाई छाडेपछि चितवनकी ३८ वर्षीया लक्ष्मी शर्माको काँधमा तीन छोराछोरी एक्लै पाल्नुपर्ने जिम्मेवारी आयो। त्यही जिम्मेवारी पूरा गर्न ठमेलमा सानो खाजा पसल चलाउँछिन्। तर प्रहरीले विभिन्न बहानामा दुःख दिने गरेको उनले सुनाइन्।
सित्तैमा खाजा, बियर खाइदिने र यौनधन्दा गरेको भन्दै सताउने गरेको उनले बताइन्। ‘मेरो १३ वर्षकी छोरी भाँडा माझ्दै थिई, सिभिल डे्रसमा आएको एक प्रहरीले यौन सम्बन्ध राख्न भन्यो,’ उनले भनिन्। स्वतन्त्र पेसा गरेर खाँदा पनि प्रहरीको गलत हेराइ भएपछि यातना हुने गरेको उनले बताइन्। ‘पहिले पतिले दुःख दिए, अहिले प्रहरीले,’ उनले भनिन्।
मसाज पार्लर, डान्सबार, दोहोरी, स्पा, रेस्टुराँ, खाजापसल लगायत क्षेत्रमा काम गर्ने महिला प्रहरीले विभिन्न बहानामा दुःख दिने गरेको गुनासो गर्छन्। उनीहरुले सञ्चारकर्मीले पनि प्रहरीकै कुरा सुनेर आफ्नो चरित्र हत्या गर्ने गरी समाचार बनाउने आरोप लगाए। राजधानीमा सञ्चारकर्मीसँगको भेटमा खाजा पसल खोलेर परिवार पाल्दै आएकी गोंगबुकी रीता राईले पनि प्रहरीबाट सास्ती पाएको बताइन्। पसलमा आएर सित्तैमा खाजा खाने, यौनधन्दा चलाएको आरोप लगाएर पक्रने उनले गुनासो गरिन्। ‘मैले सस्तोमा धेरैलाई बेचेर चलेको हो, धेरै मान्छे आउँदा यौनधन्दाको आरोप लाग्यो,’ उनले भनिन्।
स्पा नियमपूर्वक सञ्चालन गरे पनि प्रहरीले सताएको लाजिम्पाटकी सुधा मगरको गुनासो छ। माओवादी द्वन्द्वबाट बच्न उनी भागेर दस वर्षपहिले राजधानी छिरेकी हुन्। सेना र काम गर्ने साहु सबैबाट बलात्कृत हुनुपरेको उनले सुनाइन्। जीवनको लामो संघर्षपछि दुःखदाताका रुपमा प्रहरी थपिएको उनले बताइन्। ‘काममै थिएँ, पैसा मागे, तीन हजारको खाजा खाएर गएछन्,’ उनले भनिन्।
प्रहरीले सास्ती दिएरै आजित भएको सुनाउँछिन् स्पामा काम गर्ने २१ वर्षीया सुनिता केसी। पतिले छाडेपछि उनी चार वर्षे छोरी लिएर काममा जान्छिन्। एक पटक प्रहरीले यौनधन्दाको आरोपमा लगेर थुन्दा छोरीले समेत दुःख पाएको सुनाइन्। फोटोसमेत खिच्ने र अपशब्द बोलेको उनले बताइन्। ‘यो भालुको कमाइ ३०/४० हजार होला भन्दै थुने,’ उनले भनिन्।
शुक्रबारको छलफलमा पुगेका मसाज पार्लर, दोहोरी तथा अन्य सार्वजनिक पेसामा काम गर्ने धेरै महिलाले जीवनको खोजी र परिवार पाल्ने जिम्माले यी काम गर्न बाध्य भएको बताए। ‘एक्लो ज्यान भएको भए बालुवा चालेरै खान्थेँ, तीन जना छोराछोरी छन्, बालुवा बोकेको पैसाले पुग्दैन,’ भावना खनालले भनिन्। पतिले अर्को बिहे गरेपछि उनी मसाज पार्लरमा काम गर्न थालेकी हुन्।
मालिकले खोलेका कतिपय मसाज पार्लरमा यस्ता धन्दा हुन सक्ने भए पनि सबैलाई एउटै नजरले हेरेर कारबाही गर्न नहुने उनीहरुको भनाइ छ। ‘सिभिल पोसाकमा प्रहरी ग्राहक भएर आउने र कन्डम छाडेर प्रमाण भन्दै लैजान्छ,’ भावनाले भनिन्।
यौन धन्दाको आरोपमा कामदार महिलालाई लैजाने र मालिकले ठूलो रकम दिएर छुटाउने गरेको मसाजमा काम गर्ने महिलाले बताए। ‘पढेको छैन, घन्टाको दरले साहुले प्रतिशत दिएको भरमा काम गर्छौं, तैपनि सुख छैन,’ मीना गुरुङले भनिन्।
रत्नपार्कमा करिब तीन सय महिला र ४० जना पुरुष यौनकर्मी रहेको र आफूले यो क्षेत्रमा कन्डम वितरण गर्दै आएको स्वयंसेवक मैया केसीले बताइन्। प्रहरी नै ग्राहक भएर आउने र पर पुगेपछि हत्कडी लगाएर लैजाने गरेको उनले सुनाइन्। ‘यौनधन्दामा आउने ९५ प्रतिशत महिला गरिबी, पारिवारिक विखण्डनमा परेका हुन्छन्,’ उनले भनिन्।
हचुवाका भरमा प्रहरीबाट हुने कारबाहीले विपन्न, सहाराविहीन, हिंसापीडित महिला थप हिंसामा परेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापा बताउँछिन्। सरकारको दोहोरो नीतिले यी क्षेत्रका महिलाहरु थप समस्यामा पर्ने गरेको उनको तर्क छ।’यौन पेशालाई व्यवस्थित गर्नु पर्छ,निर्दोषहरु मुक्त हुनु पर्छ’उनले भनिन्।
यसबारे महानगरीय प्रहरी वृत्त हनुमानढोकाका एसएसपी पुस्कर कार्कीले केही प्रहरीले गल्ती गरे पनि सबैलाई नमुछ्न आग्रह गरे। ‘हामीसँग गुनासो आएको छैन। आएमा हामी छानबिन गर्छौं,’ उनले भने। पवित्रा सुनार/नागरिकबाट