‘उसले झम्ट्यो, उनी सहजै उम्किइन्’

255
  •  
  •  
  •  

b728495f0720add2ecaf0dbba33c1b8e_Lकाठमाडौं ८ पुस । ऊ मोटोघाटो थियो। उनी लिखुरी त होइन, तर दुब्लीपातली नै थिइन्।
उसले एक्कासि झम्ट्यो। उनी भुइँमा पछारिइन्।
उसले माथिबाट घाँटी अँठ्यायो। उनले एकछिन प्रतिकार गर्न सकिनन्। निस्तेज लडिरहिन्।
उसले बाघझैं चिथोर्न थाल्यो। उनी चल्मलाउन थालिन्। हातखुट्टा फालिन्।
एकैछिनमा दृश्यले कोल्टे फेर्योी। बाघझैं जाइलागेको ऊ उनको प्रतिकारसामु टिक्न सकेन। उनले प्रतिकारनिम्ति कुनै हातहतियार वा शारीरिक बल प्रयोग गरेकी थिइनन्, मात्र केही सुझबुझ लगाएकी थिइन्।

यो दृश्य हो, ललितपुर, झम्सीखेलस्थित एक सभाहलको, जहाँ एक अमेरिकी महिला आफ्ना सहायक प्रशिक्षकको सहयोगमा महिलाहरूलाई यौनहिंसाबाट प्रतिरक्षा गर्ने तालिम दिँदै थिइन्।
‘सामान्यतया महिलाहरूले शारीरिक बल लगाएर आफूमाथि बलात्कार प्रयास गर्ने पुरुषलाई जित्न गाह्रो हुन्छ, यस्तोमा शारीरिक बल होइन, सुझबुझले नै प्रतिरक्षा गर्नुपर्छ,’ तालिमकर्ता ५७ वर्षीया अमेरिकी महिला मेलिसा सोल्टले भनिन्, ‘यसका केही विशेष विधि छन्।’
मेलिसाले आफ्ना सहायक प्रशिक्षक माइकल हेनाकको सहयोगमा त्यही विधि प्रशिक्षार्थीहरूलाई सिकाइन्।
माइकल एक यौनपिपासुको भूमिकामा विभिन्न तरिकाबाट मेलिसामाथि जाइलाग्थे। मेलिसा भने हरेक अवस्थामा आफ्नै ढंगले उनको चंगुलबाट फुत्किन्थिन्।
‘कुनै पुरुष तिमीलाई बलात्कार गर्न खोज्दैछ भने नआत्तिऊ, उसको खुट्टा वा दुई खुट्टाको बीचमा जोडले हान, ऊ ढल्छ, अनि सुइँकुच्चा ठोक,’ मेलिसाले अभ्यास गराउँदै भनिन्, ‘यही मात्र यस्तो भाग हो, जहाँको पीडाले पुरुष नराम्ररी तिल्मिलाउँछ।’
‘अरू उपाय पनि छन्,’ मेलिसाले सिकाउँदै गइन्, ‘पुरुष आक्रमण गर्न अघि सरे यति चर्को स्वरले कराऊ, ऊ आवाज सुनेर आत्तिएरै भागोस्। वा, त्यो आवाजले नजिकका कसैको ध्यान तानोस् र मद्दतनिम्ति आओस्।’
यतिले पनि नभए वरपर आँखा दौडाएर नजिकै केही तरल पदार्थ छ भने आक्रमण गर्ने व्यक्तिमाथि पोखिदिएर, उसलाई कुनै कुराले भुलाएर वा नजिकै कुनै वस्तु छ भने त्यसले हानेर पनि प्रतिरक्षा गर्न सकिने उनले बताइन्। उनले नजिक भएका कुनै पनि वस्तुलाई हतियारका रूपमा प्रयोग गरेर प्रतिरक्षा गर्ने विधि पनि सिकाइन्।

बलात्कार, घरेलु हिंसा, कार्यस्थलमा हुन सक्ने कुनै पनि किसिमका आक्रमण या हिंसाबाट बच्न सुझबुझ नै सहायक हुने मेलिसाको भनाइ छ। ‘बाटो, एकान्त, कार्यस्थल, यात्रा वा अन्य जुनसुकै ठाउँमा बलात्कार प्रयास हुन सक्छ, यस्तोमा प्रतिरक्षा गर्न सबभन्दा पहिला महिलाले आफ्नो आत्मबल दह्रो पार्नैपर्छ,’ उनले भनिन्।
मेलिसाको यो तालिममा फेसबुकबाट सूचना पाएका युवती र महिला अधिकार क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि थिए। महिलाअधिकारवादी संस्थाहरूले मेलिसाको आत्मरक्षा विधिलाई आफ्नातर्फबाट पनि प्रचारप्रसार गर्ने बताए। तालिममा केही युवतीले प्रतिरक्षा अभ्याससमेत गरेका थिए।

‘आत्मरक्षा तालिमले मात्र महिलामाथिको हिंसा अन्त्य हुँदैन,’ मेलिसाले भनिन्, ‘यसका लागि महिलासँग सम्बन्धित कानुनी परिवर्तन र आर्थिक आत्मनिर्भरता जरुरी छ।’ महिला सशक्तीकरण नै कुनै पनि हिंसाविरुद्ध लड्ने सबभन्दा ठूलो हतियार भएको उनले बताइन्।
सन् १९७५ मा पहिलोपटक नेपाल आएकी मेलिसाको यो तेस्रो भ्रमण हो। महिलालाई यौनहिंसाबाट बचाउन आत्मरक्षा तालिम दिँदै संसारका विभिन्न मुलुक घुम्ने गरेको उनले बताइन्। नेपालपछि भारत जाने उनको योजना छ।
मनोविज्ञान विषयमा स्नातकोत्तर मेलिसाले आत्मरक्षा साक्षरता अभियानसँगै आघातमा परेका व्यक्तिका लागि मनोविशेषज्ञको भूमिका समेत निभाउँदै आएकी छन्।
नागरिकबाट


  •  
  •  
  •