पात्र-अनूभूति

309
  •  
  •  
  •  

पत्रकारिताको सुरुवाती अवस्थामा भेटिएकी थिइन्, लक्ष्मी राई । उनी उपत्यकाबाहिर धादिङ निस्कने नागढुंगाको पुलमुन्तिर ढुंगा कुटेर जीवन चलाउँथिन् । माथि लाखौंका गाडी गुडिरेहेका हुन्थे, उनी भने पुलमुनिको सानो प्लास्टिकको छाप्रोमा सुस्ताइरहेकी हुन्थिन् । धेरैपटक त्यो दृश्य देखेपछि एक दिन उनको छाप्रोमा छिरेको थिएँ । अन्जान पाहुना भएर उनको छाप्रोमा पस्दा पनि उनले आश्यर्च मानिनन् । उनलाई पत्रकार भनेको के हो थाहा थिएन । उनी सहजै कुराकानी गर्न तयार भइन् । सुरुमा दु:खसुखका कुरा भए । भविष्य र सपनाका कुरा भए । ‘तपाईंको यौनजीवन कस्तो छ ? तपाईं र श्रीमान्बीच सम्बन्धमा तपाईं खुसी हुनुहुन्छ ?’ मैले पहिलोपटक यौनसम्बन्धी प्रश्न सोधें ।

अघिसम्म खुला मनले कुरा गरिरहेकी लक्ष्मीले झस्कँदै मलाई हेरिन् । पुलमुनिको सुनसान छाप्रो, एउटा केटौलो उमेरको पत्रकार, छेउमा सुतिरहेकी सानी नानी । थाहा भयो, उनी अप्ठ्यारोमा परिन् । मैले गोजीबाट आफ्नो पत्रिका निकालंे । त्यहाँ छापिएका कुराहरू बेलिविस्तार लगाउँदै भने, ‘हाम्रो पत्रिकामा यौनका कुरा पनि छापिन्छन्, त्यही भएर सोधेको ।’

त्यसपछि उनी सुँक्कसुँक्क रोइन् । अघिसम्म उनी पेटभरि खान नपाएको कुरा गर्दै थिइन् तर दु:खी थिइनन् । राम्रो लगाउने रहरको कुरा गर्दै थिइन् त्यो बेला पनि हाँस्दै थिइन् । जब यौनका कुरा सुरु भयो, रुन पो थालिन् । म ब्याचलर केटो, लाग्थ्यो, यौनमा सुखैसुख हुन्छ । यौनले प्रेमलाई मलजल गर्छ । उनको रोदन र उत्तरले महसुस भयो, यौनमा पीडा पनि छ ।

लक्ष्मीको रुवाइले यौनविज्ञानको दु:खद पक्ष उघार्दै लग्यो । उनी भन्दै थिइन्, ‘लोग्ने रक्सी खाएर आउँछ, एउटै ओच्छ्यान छ । सँगै सुत्नुपर्छ । म पेट बोकिहाल्छु । यो उमेरमै ४ छोराछोरी भइसके । अरू कति हुने हुन् थाहा छैन ।’

२३ वर्षको उमेरमै लक्ष्मी बुढ्यौली महसुस गरिरहेकी थिइन् । मलाई लाग्थ्यो, मानिस रोगी भएर, गरिब भएर वा ज्ञान नभएर बुढ्यौली महसुस गर्छ । पहिलोपटक मलाई यस्ता कारणले पनि मानिसले बुढ्यौली महसुस गर्छ भन्ने थाहा भयो ।

दुई

के यौन दु:ख हो ? मैले यसअघि ठान्ने गरेको यौनको रोमाञ्चक धारणा कोरा कल्पना हो ? लक्ष्मीसँगको साक्षात्कारपछि म यस्ती युवतीको खोजीमा लागें, जसले यौनमा जीवनको गहिराइ फेला पारेकी होऊन् ।

यौन त्यसै पनि गोप्य कुरा । त्यसमाथि सामाजिक पाखण्ड ! त्यस्ती युवती खोज्न मलाई गाह्रो पर्‍यो । खोज्दै जाँदा थाहा भयो, अब्रेडिन विश्वविद्यालयमा अध्ययनरत नेपाली नर्स लक्ष्मी घिमिरे यौनकै विषयमा विद्यावारिधि गर्दै छिन् । उनले काठमाडौंका सयभन्दा बढी यौनकर्मीसँग कुरा गरिरहेकी थिइन् । सयौं यौनकर्मी भेटिसक्दा पनि उनको अध्ययन पूरा भइसकेको थिएन । हाँसो पनि उठ्यो, एउटी लक्ष्मी पुलमुनि दैनिक वैवाहिक बलात्कारको सिकार भइरहेकी थिइन्, अर्की लक्ष्मी यौन कर्मलाई नै पेसा बनाइरहेकी युवतीहरूको खोजी गरिरहेकी थिइन् । उनीहरूको यौन रोमान्स पुस्तकमा उतार्दै थिइन् ।

लक्ष्मीलाई भेटेर मैले आफ्नो उद्देश्य सुनाएँ । उनले भेटेका धेरै यौनकर्मीमध्ये सीता बराललाई भेटाइदिइन् । साँझको ५ बजेतिर बागबजारको एउटा साँघुरो कोठामा लक्ष्मीसँग पुग्दा सीता नुहाएर बाथरुमबाट बाहिर निस्कँदै थिइन् । उनीसँग मैले कुरा सुरु गरें ।

पत्रकार भनेपछि सीता पहिले त सचेत हुँदै के भन्नुहुन्छ, के भन्नुहुन्न भनेर विचार गर्दै बोल्दै थिइन् । जसै मैले सोधें, ‘यौन आनन्द हो ? तपाईंले यौनमा कहिल्यै आनन्द महसुस गर्नुभएको छ ?’ उनी ओइलाएजस्ती भइन् । मैले पुलमुनिको लक्ष्मीको कथा सुनाउँदै भनें, ‘म यस्ती महिला खोज्दै छु, जसले यौनमा अद्भुत आनन्द प्राप्त गरेकी होऊन् ।’

लक्ष्मीजस्तै सीता पनि रुन थालिन् । आँसुसँगै उनको विगत मेरो अघि चुहिरहेको थियो ।

जुन बेला उनी सुनसरीबाट काठमाडौं आइन्, आय आर्जनको कुनै बाटो थिएन । फुटपाथमा साग बेच्न थालिन् । त्यही बेला चितवन घर बताउने युवकले उनलाई पछ्याउन थाल्यो । त्यो युवकले हातमा पुस्तक च्यापेको हुन्थ्यो । विवाह गरौं भन्थ्यो । बिहान-बेलुका सीतालाई अहिल्यैदेखि मेरो कोठामा बस्न थाल भन्थ्यो । सुरुसुरुमा यसलाई उनले ठट्टाका रूपमा लिइन् । जसै बेला बेलामा युवक केही दिनका लागि गायब हुन्थ्यो, उनलाई दिनभरि युवकको चिन्ता लाग्थ्यो । उनले थाहा पाइन्, युवकले जिस्काउँदा जिस्क्याउँदै ऊसँग प्रेम गर्न थालिछन् । त्यही रनाहमा उनी युवकको कोठामा प्रवेश गरिन् । ‘त्यसपछिको एक महिना यौनमा निकै रमाइलो भएको थियो ।’ सीताले सम्झिन्, ‘एक महिनापछि युवक कोठाबाटै बेपत्ता भयो ।’

त्यो रमाइलोको चिनो उनको पेटमा हुर्किन थालेको उनलाई थाहै भएन । साग बेच्न छाडेकाले खर्चको अभाव थियो । अप्ठ्यारो परेका बेला छिमेकको कोठामा बस्ने एउटी महिलाले उनलाई यौनकर्म गरेर जीविका चलाउन सल्लाह दिइन् । त्यसपछि उनको यो पेसा सुरु भयो । केही महिना उनको यो कर्म रोकियो । बच्चा जन्मिएपछि उनले बच्चालाई अनाथालयमा पुर्‍याइन् र पूर्ण रूपमा यसैमा लागिन् । कथा भनेपछि उनले आँसु पुछ्दै भनिन्, ‘यौनमा क्षणिक रमाइलो त भयो, तर त्यसैले यस्तो पेसामा पुर्‍यायो ।’

अहिले उनले अर्को पुरुषसँग विवाह गरेकी छन् । उनको नयाँ श्रीमान्लाई पनि श्रीमतीको पेसा के हो राम्रोसँग थाहा छ । श्रीमान्को अर्कीपट्टिको छोरा र श्रीमान्को खर्च पनि बेहोर्नुपरेको थियो । यही विषयमा उनीहरूबीच्ा ठूलो झगडा पर्छ । श्रीमतीसँग शारीरिक सम्पर्क गर्न उनका श्रीमान् अलि घीन मान्छन् । तैपनि समाजमा उनीहरू श्रीमान्-श्रीमती भएका छन् र समाजको आँखा छलेका छन् ।

बाहिरबाट हेर्दा सबै कुरा ठीक देखिन्छ । केवल एउटै कुरा मिलेको छैन, यौनजीवन । ‘तपाईंलाई के ढाँट्नु, यौन मेरो बाध्यता हो, श्रीमान्सँग पनि ग्राहकसँग पनि,’ उनले भनिन् ।

तीन

खोजी जारी नै थियो । साथी सुब्रतले भन्यो, ‘तिमीले खोजेजस्तो पात्र म भेट्टाइदिन्छु । मोडेल स्मिता थापा खुलेर कुरा गर्न तयार छिन् ।’ एक गोधूलि साँझ नक्सालस्थित बाबर्ची रेस्टुराँको गोप्य कोठामा म स्मिता थापासँग थिएँ ।

कुराकानीको सुरुवात नै पुरुषहरूको संगतको अनुभवबाट भएको थियो । उनी मच्ची-मच्ची १६ वर्षको उमेरदेखि नै विभिन्न उमेरका क्षेत्रका पुरुषसँग समागम राखेको बताउँदै थिइन् । त्यो भनाइमा आत्मसम्मान त थियो तर आनन्द र खुसीजस्ता भाव देखिरहेको थिइनँ । उनको लामो कुरा सुनेपछि मैले अन्तर्वार्ताको उद्देश्य बताउँदै भनें, ‘नढाँटी भन त, तिम्रो यौनमा खुसी र आनन्दको प्रतिशत कति छ ?

जब मैले यौनमा खुसीको, आनन्दको कुरा गर्न थालें, उनी पनि मुर्झाइन् । ‘मलाई यसमा आनन्दको खासै ज्ञान थिएन, धेरैपछि मात्रै थाहा भयो,’ उनले भनिन् । ‘मैले जति पुरुषसँग संगत गरें, त्यसमा मलाई रमाइलो लाग्थ्यो । ऊ खर्च गर्दथ्यो, मलाई घुमाउन लैजान्थ्यो । म सोच्थें, म पुरुषलाई प्रयोग गरेर खुसी भइरहेको छु । वास्तविकता त्यस्तो होइन रहेछ ।’ उनले भनिन्, ‘जसरी म उसलाई प्रयोग गरिरहेको छु भन्ने ठान्थें, पुरुष पनि मलाई प्रयोग गरिरहेको छु भन्ने ठान्दो रहेछ ।’

मेरो खोज जारी थियो, के नेपाली समाजमा महिलाहरूको यौनजीवन सुखमय छ ? अहिलेसम्मको खोजले बतायो, छैन । खोजको अन्त्य भएको थिएन । यही खोजमा भेटिएकी यौनमनोविज्ञ करुणा कुँवरले आफ्नो लामो अनुभवबाट एउटा निष्कर्ष दिइन्, ‘९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन । हामी दाल, भात र डुकुको समस्यामा यति गहिरो गरी फसेका छौं कि यौन जीवन फरक हो, यौन पनि जीवन पद्धति हो भन्ने कुरा अपहेलना गरेका छौं । जबकि मानव गतिशील हुनुको मुख्य कारण नै यौन हो ।’  अश्विनी कोइराला / कान्तिपुर- कोसेली


  •  
  •  
  •