विवाहपूर्व यौनसम्पर्क
किशोरावस्थामा यौनेच्छा तीव्र हुन्छ नै, त्यसैले विवाहपूर्व यौनसम्पर्क राख्न पुगिन्छ। सहमतिमा नै भएका यौनसम्पर्क पनि समस्यामा परिणत हुन्छन्, त्यसैले जोसमा होस नगुमाउनु नै राम्रो हुन्छ। त्यसबाट अनिच्छित गर्भ वा यौनरोगको समस्या भोग्नुपर्ने त छँदैछ, सम्बन्धको स्थायित्व नहुँदा वा त्यसले निरन्तरता नपाउँदा पनि त्यसले आफ्नै किसिमका समस्या निम्त्याउँछ। त्यस्ता समस्या शारीरिक तथा मानसिक दुवै हुनसक्छन्। तपाईंले प्रेमिका भन्नुभए पनि सबन्ध कत्तिको गहिरो वा प्रेममय थियो, त्यसको पनि प्रभाव पर्छ। क्षणिक आकर्षण र वास्तविक प्रेमबीचको फरक छुट्टयाउनु आवश्यक हुन्छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा समस्यामा परिने सम्भावना बढी हुन्छ।
‘जोसमा होस’ नगुमाउन केही निश्चित ‘सीप’ हुनु आवश्यक छ। प्रचलित मान्यताका विपरीत, राम्रो यौन शिक्षाले युवाहरूको यौन व्यवहारलाई बढी जिम्मेवारीपूर्ण बनाउने तथा जोखिमपूर्ण यौन व्यवहारवाट टाढै राख्ने भएकाले त्यसमा विशेष ध्यान पुर्याउनुपर्छ।
बाह्य स्खलन र गर्भको सम्भावना
वीर्य स्खलन योनिभित्रै भएको स्थितिमा पनि डिम्ब निष्कासनको समयसँग मिल्नु आवश्यक छ। तपाईंकी प्रेमिकाको महिनावारी चक्रका बारेमा लेख्नुभएको भए गर्भ रहने सम्भावना आँकलन गर्न केही सहयोग मिल्ने थियो।
बाह्य स्खलन विधि
यो किशोर-किशोरीमाझ प्रायश: अपनाइने उपायमध्ये एक हो। वीर्य स्खलन हुनु ठीक अघि लिङ्ग योनिबाट झिक्ने विधि अपनाए पनि अभ्यस्त नभएका व्यक्तिका लागि यसलाई प्रभावकारी तरिकाले अवलम्बन गर्न भने गाह्रो हुन्छ।
त्यसबाहेक उत्तेजनाको स्रोत जेसुकै भए पनि यौन उत्तेजना भएपछि अलिकति रस लिङ्गको टुप्पामा देखिन्छ। पौरुष ग्रन्थिको मुनितिर मूत्रनलीसँग जोडिएको केराउका दानाजस्ता दुई ग्रन्थी हुन्छन्, जसलाई ऋयधउभचुक नबिलम भनिन्छ। यौन उत्तेजनाका बेला यही ग्रन्थीबाट निस्किएको रस केही थोपाका रूपमा नै वीर्य स्खलनभन्दा पहिले लिङ्गको टुप्पामा देखिन्छ। यसरी आउने तरल पदार्थमा सामान्यत: शुक्रकीट हुँदैनन्। त्यसैले सामान्य अवस्थामा उक्त रसको सम्पर्कबाट गर्भ रहँदैन, तर कतिपय स्थितिमा यदि केही समयपहिले मात्र हस्तमैथुन गरेर वा यौनसम्पर्क गरेर वीर्य स्खलन गरेको भए उक्त वीर्य स्खलनका कारण मूत्रनलीमा रहेका केही शुक्रकीट यो रससँगै बाहिर आउने सम्भावना रहन्छ। यस्तो स्थितिमा भने थोरै भए पनि गर्भ रहने सम्भावना रहन्छ। विभिन्न अध्ययनले यस्तो विधिले १५ देखि २५ प्रतिशतसम्म गर्भ रोक्न नसकेको देखाएको छ। यसले गर्भ रहने सम्भावना केही कम गरे पनि यौनरोग तथा एचआईभी भने सर्न सक्छ। गर्भ तथा यौनरोग तथा एचआईभी दुवैबाट बच्न कन्डमका साथै अरू प्रभावकारी गर्भ निरोधको उपाय अवलम्बन गर्नु आवश्यक छ।