बोर्ड नयाँ, काम पुरानै

545
  •  
  •  
  •  

काठमाडौं २७ भदौ । एकताका ठमेलका प्रायः घरमा विभिन्न नाममा मसाज सेन्टर लेखिएका बोर्ड झुन्डिएका हुन्थे। यस्ता बोर्ड झुन्डिएका सेन्टरमा मसाज होइन, यौन धन्दा हुने गरेको थियो। अघोषित ‘रेड लाइट एरिया’ जस्तै भएपछि ठमेल बद्नाम भयो। घरधनी तथा अन्य पेसा र व्यवसाय गर्नेहरूको जोडबलमा कतिपय मसाज सेन्टर बन्द गरिए पनि। तर, यौन पेसा गराउन पल्केका तथा पेटका लागि शरीर बेच्न बाध्यहरूले यो पेसालाई चटक्कै छोड्नसक्ने कुरै भएन। प्रशासन तथा स्थानीयवासीले कडाइ गरेपछि ठमेलका मसाज सेन्टरमा केही परिवर्तन आएको छ। धेरैले आफूलाई स्पाको नाम दिएका छन्। हिमालयन, नेचुरल, हर्बल अइल, बडी केयरजस्ता नाम राखेर मसाजको ठाउँमा स्पा सेन्टर तथा बुटिक लेखिएको छ। तर, अधिकांश स्पा लेखिएका केन्द्र पहिलाका मसाज सेन्टर हुन्। उनीहरू अहिले पनि यौन धन्दा नै चलाइरहेका छन्।

मसाज व्यवसायी संघ, प्रहरी प्रशासन तथा स्थानीयवासीको सहकार्यमा मसाज सेन्टरका लागि मापदण्ड तोकिएको छ। मसाजमा काम गर्ने महिलाले अनिवार्य रूपमा तोकिएको ड्रेस लगाउनुपर्ने, मसाज गर्दा ढोका खुला राख्नुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने, मसाजका लागि चाहिने तेल तथा पाउडरको व्यवस्था गरिनुपर्ने आदि मापदण्ड तोकिएका छन्। कुन मसाजको कति रुपैयाँ पर्ने हो, त्यसको मूल्य लेखिएको मेनु पनि अनिवार्य गरिएको छ। तर, मापदण्ड पूरा गर्ने मसाज सेन्टर भेट्न मुस्किल छ।
नयाँ ग्राहक मसाज सेन्टरभित्र पस्यो भने उसलाई पहिला विभिन्न खालको मसाज गर्दा लाग्ने शुल्कः लेखिएको मेनु लिएर युवतीहरू बार्गेनिङ गर्न थाल्छन्। प्रायः सबै मसाज सेन्टरको एकै खालको रेट तोकिएको छ– एक घण्टाको १२ सय र आधा घण्टाको छ सय रुपैयाँ। मसाज सेन्टरका महिला तथा किशोरी नयाँ ग्राहकलाई आधा घण्टाको मसाज लिन कर गर्छन्। जो आधा घण्टाका लागि तयार हुन्छ, उसलाई केही बेर मसाज गरिदिएपछि यौन सम्पर्कका लागि आग्रह गरिन्छ। भुक्तभोगीका अनुसार त्यसपछि यौन सम्पर्क गरेको बढीमा एक हजारदेखि न्यूनतम छ सय रुपैयाँ असुल्छन्, मसाज सेन्टरका सञ्चालक। ‘हामीले कडाइ गरेपछि मसाज सेन्टरमा हुने यौन क्रियाकलापमा केही कमी आए पनि चेकिङका क्रममा जोडीहरू समातिने क्रम रोकिएको छैन,’ डिएसपी चन्दले भने, ‘स्पा लेखिए पनि धेरैको काम अहिले पनि यौन धन्दा चलाउनु नै हो। पर्दा र तन्ना फेर्नेबाहेक अन्य केही नयाँ काम भएको छैन।’ प्रहरीले अहिले छड्के चेकजाँचभन्दा पनि हप्तैभरि विभिन्न लोकेसनमा नियमित चेकजाँच गर्ने गरेको जानकारी चन्दले दिए।
डान्सका नाममा यौन धन्दा
ज्याठा चोकबाट थोरै ठमेलतिर पसेपछि दायाँतिर चाइनटाउन सपिङ सेन्टरको भवन आउँछ। यो भवनको दोस्रो तलामा सेलब्रेसन लाउन्ज बार एन्ड डान्स रहेको छ। सोमवार राति ठमेलको चित्र उतार्ने क्रममा त्यहाँ पुग्दा सपिङ सेन्टरको अगाडि एक जना किशोर बसिरहेका थिए। हामीलाई देख्नेबित्तिकै ती किशोरले रमाइलो गर्ने प्रस्ताव गरे। ‘दाइ माथि डान्स रेस्टुरेन्ट छ, जाउँ हेरौँ। रमाइलो गरौँ,’ उनी हामीलाई ‘कन्भिन्स्ड’ गर्न खोज्दै थिए। हामीले ‘डान्समात्र त के हेर्नु भाइ? अरू व्यवस्था छैन?’ भनेपछि उनले केटीसँग रमाइलो गर्ने रुम पनि भएको र रेट पनि खासै महँगो नभएको बताए। ‘पाँच सयमा काम तमाम हुन्छ,’ उनी भन्दै थिए।

उनको आग्रहपछि हामी माथि उक्लियौँ। सानो स्पेसमा रहेको यो डान्सबारको सेटिङ डान्स रेस्टुरेन्टका लागि गरिएको जस्तो थिएन। बीस वर्षभन्दा कम उमेरका देखिने किशोरीहरू ग्राहकका वरिपरि झुम्मिएका देखिन्थे। एक युवती स्टेजजस्तो सानो स्पेसमा नाचिरहेकी थिइन्। डान्सको बहानामा यौन धन्दा चलाउने उद्देश्यले खोलिएकाले नै होला, सडकमा बसेर ग्राहक बोलाइरहेका ती किशोर डान्स नहेर्ने भए सीधै कोठामा जान कर गरिरहेका थिए। ‘डान्सबारमार्फत हुने यौन क्रियाकलापमा केही कमी आएको र ‘न्युड डान्स’ गर्न बन्द भएको थियो,’ नशा डान्सबारका सञ्चालक रमेश कार्कीले भने, ‘डान्स रेस्टुरेन्टको नाममा गलत काम गर्नेहरूलाई कारबाही गर्नुपर्छ। विगतको तुलनामा डान्सबार निकै मर्यादित र मापदण्डअनुसार सञ्चालन हुन थालेका छन्।’ नागरिक शुक्रबारबाट


  •  
  •  
  •