दम्पतीलाई जेलभित्रै सेक्स सुविधा

118
  •  
  •  
  •  

काठमाडौं १० भदौ ।
कैदीले जेलभित्रै श्रीमतीसँग शारीरिक सम्पर्क राख्न पाउने भएका छन् । सरकारले यौनसम्पर्क राख्ने कोठासहितको नयाँ कारागार निर्माण प्रक्रिया अघि बढाएको छ ।

कैदी/बन्दीको प्रजनन अधिकारका लागि कारागार व्यवस्था विभागले श्रीमतीसँग शारीरिक सम्पर्क राख्न दिने गरी नुवाकोटमा नयाँ कारागार निर्माण थालेको छ । श्रीमान्–श्रीमती नै जेल परेकाले मात्र यस्तो सुविधा पाउनेछन् ।

‘अदालतको आदेशअनुसार हामीले कैदी/बन्दीको प्रजननको अधिकार सुनिश्चित गर्न लागेका हौँ,’ कारागार व्यवस्था विभागका महानिर्देशक शम्भु कोइरालाले भने, ‘नुवाकोट कारागारमा त्यसका लागि दुई–तीनवटा कोठा बनाउनेछौँ ।’

गत वर्ष सर्वाेच्च अदालतले कैदी/बन्दीको प्रजनन अधिकार दिन आदेश दिएको थियो । त्यसैको कार्यान्वयनका लागि सरकारले नयाँ कारागारमा शारीरिक सम्पर्कका लागि जेलभित्र छुट्टै कोठा बनाउन लागेको हो । तर, कार्यान्वयनमा आउन भने करिब पाँच वर्ष लाग्ने कारागार व्यवस्था विभागका महानिर्देशक कोइराला बताउँछन् । विदेशका जेलहरूमा पनि यस्तो प्रचलन छ ।

सरकारले सुन्धारास्थित केन्द्रीय कारागारलाई नुवाकोटको विदुरमा स्थानान्तरण गर्न लागेको हो । यसका लागि जग्गाको समेत व्यवस्था भइसकेपछि चालू वर्षबाट निर्माणको काम सुरु गर्न लागिएको विभागका महानिर्देशक कोइरालाले बताए ।

नुवाकोटको विदुर नगरपालिकको ६ नम्बर वडास्थित चन्डिपोखरी भन्ने ठाउँमा केन्द्रीय कारागार निर्माण हुन लागेको हो । जहाँ कारागारका लागि पाँच सय ३३.५ रोपनी जग्गा कारागार व्यवस्था विभागले पाइसकेको छ ।

महानिर्देशक कोइरालाका अनुसार करिब ६ हजार अट्ने गरी विदुरमा केन्द्रीय कारागार बनाउन लागिएको छ । त्यहीँ महिलाको जेलसमेत हुनेछ ।

कारागारलाई सुधारगृह बनाउने उद्देश्यले केन्द्रीय कारागार बन्ने विभागका अधिकारीहरू बताउँछन् । विभिन्न प्रकृतिका कैदी/बन्दी राख्नेगरी छुट्टाछुट्टै ब्लक बनाउने तयारी पनि गरिएको छ ।

‘मुद्दा फैसला भएका कैदी र मुद्दा फैसला नभइसकेका थुनुवालाई छुट्टाछुट्टै राख्नेछौँ,’ महानिर्देशक कोइराला भन्छन्, ‘गम्भीर प्रकृतिको अपराधमा जेल परेका पनि छुट्टै रहन्छन् ।’

त्यस्तै उमेर समूहअनुसार युवक र वृद्धहरूलाई छुट्टाछुट्टै राख्ने तयारी छ । सरुवा रोग लागेकालाई पनि छुट्टै राखिने विभागले जनाएको छ ।

हाल केन्द्रीय कारागारमा करिब दुई हजार चार सय कैदी/बन्दी छन् । गम्भीर किसिमका अपराधी र सामान्य अपराधमा जेल परेका सँगै बस्ने गरेका छन् । संगतले गर्दा जेल परेपछि सामान्य मान्छे पेसेवर अपराधी बनेर निस्कने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । त्यसकारण जेलहरू सुधारगृहभन्दा अपराधको कारखाना बन्दै गएको भन्दै आलोचना हुँदै आएको छ ।

नुवाकोटको जेललाई भने सुधारगृह बनाइने महानिर्देशक कोइराला बताउँछन् । ६ हजारजना बस्न मिल्ने भएकाले नुवाकोटको कारागार एउटा गाउँजस्तै हुने उनको भनाइ छ ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •