सेवा बिकास बैकद्वारा “सेवा आर्थिक पत्रकारिता पुरस्कार स्थापना

117
  •  
  •  
  •  

रुपन्देही, १४ फागुन (ओएनएस) : रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको सेवा विकास बैंक लिमिटेडले नवौं बर्षमा प्रवेशको अवसरलाई विभिन्न सामाजिक कार्यहरु गरी सम्पन्न गरेको छ ।

बुटवल हिलपार्क परिसरमा निर्मित सेवा उद्यानमा रहेको पञ्चशिलको अनावरण गरि सुभारम्भ गरिएको उक्त कार्यक्रममा बैंकद्वारा स्थापित “सेवा आर्थिक पत्रकारिता पुरस्कार”को सञ्चालन व्यवस्थापनको लागी नेपाल पत्रकार महासंघ, रुपन्देहीसँग सहकार्यको लागी समझदारी–पत्रमा हस्ताक्षर सम्पन्न गरिएको छ ।
समझदारी–पत्र आदान प्रदान पछि शुभकामना व्यक्त गर्नुहुदै नेपाल पत्रकार महासंघ, रुपन्देहीका सभापति शेरबहादुर केसीले आर्थिक क्षेत्रमा कलम चलाउनेका लागी यस पुरस्कारले हौसला मिल्ने र आर्थिक क्षेत्रमा घोषण गरिएको यो पुरस्कार पहिलो भएको वताउनुभयो ।

सिर्जनशिल सहयात्री सार्कि समाजले स्थापना गरेको अक्षयकोषको लागी बैंकले रु. १५ हजार आर्थिक सहयोग गरेकोमा समाजका अध्यक्ष इन्द्रलाल वमरेलले चेक ग्रहण गर्नुहुँदै दलितहरुको उत्थानको लागी खोलीएको अक्षयकोषमा बैंकले गरेको सहयोग अत्यन्त ठूलो रहेको वताउनुभयो ।

सोही कार्यक्रममा बैंकद्वारा आयोजित शाखागत भलिवल प्रतियोगीताका विजयी खेलाडीहरुलाई शिल्ड र प्रमाणपत्रले सम्मान गरिएको थियो । साथै बैंकले सेवा उद्यान परिसरमा वृक्षारोपण कार्य समेत गरेको छ ।

बैंकले विगतदेखी नै अक्षयकोष, शैक्षिक सामग्री वितरण, अनाथ तथा अपाङ्गहरुको लागी आर्थिक सहयोग, कार्यक्रमको सौजन्यता, रक्तदान जस्ता विभिन्न सामाजिक कार्य मार्फत समाजमा राम्रो छाप छोड्न सफल भएको छ ।

“सामाजिक उत्तरदायीत्वको सन्दर्भमा हामी विगतदेखी नै कटिवद्ध छौ, बैंकहरुको उद्देश्य नाफा कमाउनु मात्रै होइन”, सामाजिक क्षेत्रमा पनि केही योगदान रहेको बैकका कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले बताउनु भयो ।


  •  
  •  
  •