सेरामिक्सको तालीमले अब्बल बन्दै कुमाल समुदाय

304
  •  
  •  
  •  

टोपलाल अर्याल
असार २, गुल्मी । उमेरले ५९ वर्ष पुगेका गुल्मीको अम्मपुर २ का शेरबहादुर कुमाललाई बुढेसकालमा सेरामिक्सको तालीम पाउँदा खुसीको सिमा छैन । त्यो पनि आफ्नै पुख्र्यौली पेशा – माटोका भाँडा बनाउने ।

‘हामीले बाउ–बाजेकै अनुसार भाँडा बनाउँदै आएका थियौँ’ शेरबहादुर भन्छन् ‘बुढेसकालमा सीप सिक्न पाउँदा निकै आनन्द लागेको छ ।’ उनका अनुसार अम्मरपुर गाविसमा रहेका झण्डै ५ सय कुमाले घरधुरीको परम्परगत पेशा माटोकै भाँडा बनाउने हो । यस्तै अम्मरपुर १ कै बसन्ती कुमाललाई पनि पहिलो पटक यस्तो तालीम पाउँदा खुसी लागेकोे छ । घरमा बाबुआमाले माटाका भाँडा बनाउने भए पनि बसन्तीलाई कुनै वास्ता थिएन । तर, अहिले बिस्तारै माटोका भाँडा बनाउन सक्ने भएकी छन् ।

तालीम पाएपछि परम्परागतरूपमा माटोका भाँडा बनाउँदै आएका अम्मरपुरका कुमाल समुदाय अब ब्यवसायीक बन्ने भएका छन् । न्यून आर्थिक अवस्था भएका कुमालेहरूलाई उद्यमी बनाउन तथा घरेलु तथा साना उद्योग विकास समितिले सेरामिक्सको प्रवद्र्धन गर्न वस्तु विकास केन्द्र स्थापना गरेर अम्मरपुरमा कुमाल समुदायलाई तालीम प्रदान गरिरहेको छ । यो सेरामिक्स विकास केन्द्र देशकै पहिलो हो ।

उद्योग मन्त्रालयले गुल्मीको अम्मरपुरलाई माटोको अध्ययन केन्द्र बनाउने उद्देश्यले सेरामीक्स विकास केन्द्र स्थापना गरेको हो । उद्योग प्रवद्र्धन, विकास र विस्तारका लागि यस्तो कामको सुरुवात गरेको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख कृष्ण पोख्रेलले जानकारी दिए । कूल ३८ लाख ५० हजारको बजेटमा उक्त कार्यक्रम संचालन भएको हो । देशभरकै धेरै जनाले सिक्न सक्ने गरि वस्तु विकास केन्द्र निर्माण भएको पोख्रलले जानकारी दिए ।

जेठ ८ गतेबाट सुरु भएको एक महिने सेरामिक्स तालीममा अहिले अम्मरपुरका ४४ जना महिला तथा पुरुषले सिप सिकिरहेका छन् । तीन समुहमा विभाजित भएर उनीहरूले आफूहरूको परम्पराको बारेमा सिक्न पाउँदा निकै खुशी मानेका छन् । तालीममा पुरुष भन्दा महिलाको संख्या ठूलो छ । राम्रो बजारको अभाव भएर युवा पुस्ताहरू यसमा आकर्षित नभए पनि लगभग सबै कुमालेहरूको घरमा माटोका भाँडाकुँडा अहिले पनि बन्छन् । विस्तारै सिल्टी र स्टीलका भाँडाकुँडा प्रयोग हुन थाले पनि गाउँमा घैँटाको पानी मिठो र स्वस्थ्यकर हुने बुढापाकाहरूको अनुभव छ ।

अँझै पनि गाउँमा घैँटो, हाँडी लगायतका सामग्रीहरू प्रयोग गर्नेहरू धेरै छन् । कुमालेहरूले डोको बोकेर गाउँ गाउँमा यी भाँडाकुँडाहरू निर्यात गर्ने गरेका छन् । धेरै सस्तोमा बेच्नुपर्ने र राम्रो बजार नभएका कारण कुमाले समुदायहरूलाई यो पेशा थाम्न हम्मे हम्मे परेको छ । जिल्लाका अरु केहि स्यानमा पनि कुमाल समदायको बसोबास हुने गरेपनि अम्मरपुरका कुमाल समुदायले मात्र माटाका भाँडा बनाउँदै आएका छन् ।


  •  
  •  
  •