काठमाडौं । एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण गरेका हुन् । त्रिभुवन आर्मी फुटबल क्लब नेपाली सेनाको विभागीय टोली हो ।
एएफसीको ‘क्लब लाइसेन्सिङ अपिल बडी’को यही पुस ७ गतेको बैठकले त्रिभुवन आर्मी क्लबलाई उक्त लाइसेन्स प्रदान गर्ने निर्णय गरेको थियो । उक्त अनुमति प्राप्त गरेसँगै त्रिभुवन आर्मी क्लबले एपएफसी कप क्लबअन्तर्गत सञ्चालन हुने व्यावसायिक फुटबल प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेको छ ।
एएफसी विश्व फुटबल महासङ्घ (फिफा) भित्रका ६ सङ्घमध्येको एक हो । एएफसीमा ४७ देश सदस्यका रुपमा आबद्ध छन् । उक्त संस्था सन् १९५४ फिलिपिन्सको मनिलामा गठन भएको थियो । हाल एएफसीको मुख्यालय मलेसियाको क्वालालम्पुरमा छ । नेपालमा एएफसीले क्लब लाइसेन्सिङको प्रक्रिया सन् २०१६ देखि लागू गरेता पनि सन् २०१८ देखि लाइसेन्स अनिवार्य गरिएको थियो ।