काठमाडौ, ३ माघ(ओएनएस) : निर्धारित मितिमै संविधान जारी गर्न दवाव दिने उदेश्यले युवा सङ्घ नेपालले आज अर्धनग्न जुलुस निकालेको छ ।
सङ्घको कार्यालय बिजुलीबजारबाट निकालेको जुलुस नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । शरीरमा आधा कपडा लगाएका युवाले माघ ८ मै संविधान जारी गर, जनताको अभिमतको सम्मान गर, जातीय राज्य चाहिँदैन, देश टुक्र्याउन पाइँदैन, ६०१ खबरदार जस्ता नारा लगाएका थिए ।
कोणसभामा सङ्घका महासचिव राजीव पहाडीले दलहरुले आफ्नो घोषणापत्रमा माघ ८ मा संविधान जारी गर्छु भनी गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने बताए । उनले जनताले दिएको जनमतलाई कदर गर्दै नेपाली काँग्रेस र नेकपा-एमालेले लोकतान्त्रिक र सर्वमान्य संविधान समयमै जारी गर्नुपर्ने बताएका छन् । उनले सहमति हुन नसके नसके प्रक्रियाबाट भए पनि समयमै जारी गर्नुपर्नेमा जोड दिएका थिए ।
सङ्घले तोकिएको मितिमै संविधान जारी गर्न दबाबस्वरुप विभिन्न दबाबमूलक कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।