सेमेस्टर प्रणाली लागू गरेपछि नतिजा चार महिनासम्म आएन

83
  •  
  •  
  •  

tu-logoकाठमाडौ, २५ पुस : सेमेस्टर प्रणाली लागू गरिएपछि पठनपाठनसम्बन्धी सम्पूर्ण गतिविधि शैक्षिक क्यालेण्न्रअनुसार हुने दाबी गरिरहेको त्रिभुवन विश्वविद्यालयले यो प्रणाली लागू गरेको पहिलो वर्ष नै लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न सकेको छैन।

सेमेस्टर प्रणालीअनुसार प्रत्येक ६ महिनाभित्र पढाइ सम्पन्न, परीक्षा सञ्चालन र नतिजासमेत प्रकाशन गरिसक्नुपर्ने हुन्छ। शिक्षा, व्यवस्थापन, मानविकी र विज्ञान चारैवटा संकायमा पहिलो समेस्टरको पढाइ गत चैतदेखि सुरु भएको थियो। सबै संकायको पढाइ भदौमा सकिएपछि असोज पहिलो साता परीक्षा लिइएको थियो।

परीक्षा सकिएको चार महिना बितिसक्दा पनि सबै विषयको नतिजा सार्वजनिक भएको छैन। े मानविकी संकायअन्तर्गत अर्थशास्त्र, शिक्षाशास्त्र संकायअन्तर्गत फिजिक्स र बायोलोजीलगायत व्यवस्थापन र विज्ञान संकायका थुप्रै विषयको नतिजा सार्वजनिक भएको छैन।

सेमेस्टर प्रणाली लागू गरिएपछि पढाइ तथा परीक्षा सञ्चालन र नतिजा प्रकाशन कार्य सम्बन्धित संकायको डिन कार्यालयले गर्छ। पहिलो सेमेस्टरको नतिजा सार्वजनिक नभए पनि चारैवटा संकायले दोस्रो सेमेस्टरको पढाइ सुरु गरिसकेका छन्।

दोस्रो सेमेस्टरको परीक्षा आगामी फागुन ६ गते सञ्चालन हुने तालिका सार्वजनिक भइसकेको छ।

शिक्षाशास्त्र संकायका सहायक डिन नेत्र धितालले पहिलोपटक सेमेस्टर प्रणालीमा काम गर्नुपरेकाले नतिजा प्रकाशनमा केही ढिलो भएको बताए। ‘पढाइ सञ्चालनसम्बन्धी सबै काम तालिकाअनुसार भएको छ।

पहिलो सेमेस्टरको नतिजा नआए पनि दोस्रो सेमेस्टरको पढाइ सुरु भइसकेकाले विद्यार्थीलाई समस्या पर्दैन।’ बाँकी विषयको नतिजा छिट्टै सार्वजनिक गरिने धितालले बताए।

त्रिविका उपकुपति हीराबहादुर महर्जनले भने, ‘पहिलोपटक भएकाले केही समस्या आएका होलान्। बिस्तारै समाधान गर्दै लैजान्छौं। नतिजाकै कारण सेमेस्टर विफल भयो भन्न मिल्दैन।’

सेमेस्टर प्रणालीअन्तर्गत नतिजा ग्रेडिङमा सार्वजनिक गरिने भएपनि त्रिविले मानविकी तथा शिक्षाशास्त्र संकायका केही विषयको नतिजा क्याम्पसको भित्तामा टाँसेर सार्वजनिक गरेको थियो।

नतिजा सार्वजनिकमा लापरबाही भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि शिक्षाशास्त्र संकाय डिनको कार्यालयले दुई विषयमा अनुत्तीर्ण विद्यार्थीलाई पूरक परीक्षा दिन लगाउने निर्णय गरिसकेको छ।

शिक्षाशास्त्र संकायको केही विषयको नतिजा पुस ७ गते सार्वजनिक भएको थियो। विद्यार्थीहरूले भौतिक पूर्वाधार नभएको तथा प्राध्यापकहरू नयाँ प्रणालीबारे जानकार नहुँदा पनि नतिजा तथा पढाइमा समस्या भएको आरोप लगाउँदै आएका छन्। अन्नपूर्ण पोष्टबाट


  •  
  •  
  •