‘होचा’ कलाकार विकलाई सहयोगार्थ ‘सेल्फि किङ’ को विशेष शो

66
  •  
  •  
  •  

काठमाडौं । ‘होचा’ कलाकार मनोज विकलाई सहयोगार्थ ‘सेल्फि किङ’ को विशेष शो आयोजना गरिने भएको छ।

केही समयदेखि बोनम्यारो सम्बन्धी समस्याबाट पीडित मनोजको अहिले उपचार भइरहेको छ। उनको सहयोगार्थ नेपाल राष्ट्रिय मोडलिङ संघले आगामी शनिबार विशेष शो को आयोजना गर्न लागेको हो ।

‘विश्वका होचा कलाकारको छवि बनाएका मनोज राष्ट्रका गौरव हुन्’, नेपाल मोडलिङ संघका केन्द्रीय अध्यक्ष दिनेश शाहीले भने, ‘उनको उपचारमा केही सहयोग पुगोस् भन्ने उदेश्यले फिल्मको विषेश शो गर्न लागिएको हो।’

विशेष शोका लागि ‘सेल्फी किङ’का निर्माता सुवास थापा र दिनेश राउतले फिल्म उपलब्ध गराएका छन्।

फिल्मको विषेश शोबाट उठेको सम्पूर्ण रकम मनोजलाई नै प्रदान गरिने बताइएको छ। शो कमलपोखरीस्थित सिटी सेन्टरको बिग मुभिजमा शनिबार (माघ २५) बिहान ९ बजे राखिएको छ। उक्त शोमा फिल्मका कलाकार, राजनीतिक नेता तथा समाजसेवीहरुको समेत उपस्थिति रहनेछ ।

विशाल सापकोटा निर्देशित चलचित्रमा दिनेश राउत र सुबास थापाको लगानी छ। चलचित्रमा विपिन कार्की , लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ।


  •  
  •  
  •