नेता रावलले भने, ‘सरकार र सिके राउतबीच भएको सहमति अमान्य’

519
  •  
  •  
  •  

काठमाडौं, २५ फागुन(ओनएनएस) : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्व गृहमन्त्री भीम बहादुर रावलले सरकार र सिके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले सो सहमतिले राष्ट्र टुक्र्याउने कुरालाई बैद्यता दिएको बताए ।

उनले भने,‘देशलाई शान्तिको बाटोमा लैजानुपर्ने र समृद्धिको बाटोमा अघि बढाउनको लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ, यसमा कसैको विरोध हुँदैन् । सरकारले त्यस्तो प्रयास गर्नुपर्छ । तर, राउतसँग सहमति गरेर त्यस्तो गरेको मलाई लागेको छैन् ।’

रावलले सरकारले कसैसँग सम्झौता वा सहमति गर्दा त्यससम्बन्धी उदेश्य, गन्तव्य र एउटा स्पष्ट धारणा हुनुपर्नेमा सिके राउतसँग सम्झौता गर्दा उद्देश्य स्पष्ट नदेखिएको आरोप लगाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिपछि सम्बोधन गर्दा देशको एक ईन्चपनि भुमि टुक्र्याउन पाईँदैन भनेर बोलेको उल्लेख गर्दै रावलले भने,‘तर, हिजो स्वतन्त्र मधेश संगठन र सरकारबीच सहमति भएको छ । यसले के अर्थ दिन्छ ? स्वतन्त्र मधेश भनेको के हो ? यसको प्रधानमन्त्रीले नेपाली जनतालाई जवाफ दिनुपर्छ ।’

उनले आफ्नै पार्टीका कतिपय साथीहरुले स्वतन्त्र मधेश संगठन भनेको त नाम हो भनेर हाँस्यस्पद तर्क गरेको पनि आरोप लगाए । उनले भने,‘भोलि कसैले नेपाल समाप्त पार्टी गठन ग¥यो भने सरकारले सहमति गर्ने त ? यो तर्क नै गलत हो ।’
रावलले सिके राउतले स्वयम आफ्नो फेशबुक पेजमा जनमतसंग्रह गराउन नेपाल सरकार सहमत भयो भनेर पोष्ट गरेकोपनि सुनाए

रावलले शुक्रबारको सहमतिसँगै अब स्वतन्त्र मधेश गठबन्धन भन्ने पार्टी देशैभरि खुल्नेपनि सुनाए ।
उनले यत्रो सहमति गर्दा पनि पार्टीभित्र छलफल नभएकोमा आक्रोश पोखे ।
रावलले प्रधानमन्त्री ओलीले राउतलाई दार्शनिक भनेर सम्बोधन गरेकोमा पनि आश्चर्य प्रकट गरे ।
उनले यो सहमतिमा हस्ताक्षर गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामाबारे अब बस्ने बैठकमा छलफल हुनेपनि जिकिर गरे ।


  •  
  •  
  •