एसईई परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई प्रहरीसहित ६ जना सार्वजनिक

494
  •  
  •  
  •  

राजविराज, २१ चैत(ओएनएस) : प्रदेश २ मा चैत १४ र १५ गतेको एसईई परीक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न दुई प्रहरी, एक शिक्षकसहित ६ जनालाई सार्वजनिक गरिएको छ ।


केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिराहाको इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत जवान सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल रहेका छन् ।

यस्तै अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव छन् ।
जनता मावि बनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र राखिएको थियो ।

यसअघि सामाजिक सञ्जालमा बाहिरिएको प्रश्नपत्रको छेवैमा ब्लेड देखिएपछि प्रश्न–पत्र हुने पोकाको तलबाट काटेर प्रश्नपत्र निकालिएको आशंका गरिएको थियो ।

प्रश्नपत्र निकालेर फोटो खिचेपछि उनीहरुले सप्तरी पठाएका थिए । त्यहीबाट प्रश्नपत्रको किनबेच शुरु भएको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।

दुई वटा विषयको प्रश्नपत्र आउट भएपछि शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले पनि १५ चैतमा साँझ पत्रकार सम्मेलन गरेर परीक्षा स्थगित भएको घोषणा गरेका थिए ।

घटनाको अनुसन्धान गर्न उनले सोही बेला केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई आग्रह गरेका थिए । त्यसपछि ब्युरोले डीएसपी निरञ्जन भट्टको नेतृत्वका अनुसन्धान टोली खटाएको थियो ।

यस्तै परीक्षा नियन्त्रण कार्यालयले पनि परीक्षा बोर्डकी सदस्य प्राध्यापक अमुदा श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । स्थगित परीक्षा शुक्रबारदेखि शुरु हुँदैछ ।


  •  
  •  
  •