जुम्लामा प्याज र लसुनको बीउ उत्पादन प्रविधि प्रमाणिकरण

408
  •  
  •  
  •  

विनोद शर्मा, २६ माघ (ओएनएस) : कर्णाली अञ्चलको सदरमुकाम जुम्ला जिल्ला तरकारीको बीउ उत्पादनको पकेट क्षेत्रका रुपमा विकास भैरहेको छ । नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतका कार्यालयको सहयोगमा किसानहरु गाजर, मुला्, रायो, प्याज, लसुन, काउली, बन्दा लगायतका तरकारीको बीउ उत्पादनमा सक्रिय भएर लागेका छन् ।

तरकारीको बीउ उत्पादन गरी जिल्लालाई बीउमा आत्मनिर्भर बनाउनुका साथै आम्दानीको दिगो स्रोत बनाउने उनीहरुको लक्ष्य छ । कृषि अनुसन्धान केन्द्र बागबानी राजिकोटले जुम्लाको पट्मारा गाविसमा प्याज र लसुनको बीउ उत्पादन प्रविधि प्रमाणिकरण गरिरहेको छ । केन्द्रको फारममा सफल भएको प्रविधिलाई किसानको खेतबारीमा प्रयोग गरेर प्रमाणिकरण गर्न लागिएको केन्द्र प्रमुख गिरीधारी सुवेदीले बताए ।

पट्मारा ३ घोडासैनका चुक्की महताराले मात्रै यस वर्ष १० किलो प्याजको बीउ उत्पादन गरेकी छन् । झण्डै एक सय वर्गमिटर क्षेत्रफलबाट उनले १० किलो बीउ उत्पादन गरेकी हुन् । एक किलो बीउको २ हजार ५ सय रुपैंयाँको दरमा बिक्री भएको किसान महताराको भनाइ छ । उनले भनिन्, “झण्डै एक सय वर्गमिटर क्षेत्रफलमा धान लगाउँदा २ हजार रुपैंयाँ मात्रै आम्दानी हुन्थ्यो । त्यत्ति जग्गामा प्याजको बीउ उत्पादन गर्दा मैंले २ हजार ५ सय रुपैंयाँका दरले २५ हजार आम्दानी गरें । प्याजको बीउ उत्पादन गरेर पनि राम्रो आम्दानी हुने रहेछ ।”

घोडासैनकै पशुपति बुढाले झण्डै ५० वर्गमिटर क्षेत्रफलबाट ५ किलो प्याजको बीउ उत्पादन गरेका थिए । एक किलोको २ हजार ५ सय रुपैंयाँका दरले बिक्री गर्दा १२ हजार ५ सय रुपैंयाँ आम्दानी भएको किसान बुढाको भनाइ छ । प्याजको बीउ उत्पादन गर्दा धान, मकै, कोदो लगाउँदा भन्दा १० गुणा बढी आम्दानी हुने भएकोले व्यबसायिक रुपमा अगाडी बढ्न सकिने उनले बताए ।

कृषि अनुसन्धान केन्द्र बागबानी राजिकोटले यस वर्ष पनि चुक्की महतारा, पशुपति बुढा सहित ६ जना किसानलाई प्याजको बीउ उत्पादनका लागि सहयोग गरेको छ । हरेक किसानलाई २५ किलोका दरले प्याजको गाना र प्राविधिक सहयोग उपलब्ध गराइएको केन्द्र प्रमुख तथा बरिष्ठ वैज्ञानिक गिरीधारी सुवेदीले जानकारी दिए ।

उनले भने, “हामीले अघिल्लो वर्ष १ सय ५८ वर्गमिटर जग्गामा लसुन लगाएकोमा १३ डोका फलेको थियो । फारममा सफल भैसकेपछि बीउ उत्पादन प्रविधि प्रमाणिकरणका लागि किसानको खेतबारीमा पनि लगाइएको हो ।” पट्माराका किसानको खेतबारीमा चाइनिज र काठमाडौं लोकल गरि दुवै जातका लसुनको समेत बीउ उत्पादन प्रविधि प्रमाणिकरण भैरहेको केन्द्रले जनाएको छ ।

केन्द्रको फारममा दुई वर्ष गरिएको परीक्षण सफल भएपछि किसानको बारीमा परीक्षण भैरहेको केन्द्र प्रमुख गिरीधारी सुवेदीले बताए । अघिल्लो वर्ष पट्मारा ९ उर्थुका किसान कलसी बिष्टले एक किलो चाइनिज लसुनको गाना लगाउनु भएकोमा १९ किलो उत्पादन भएको थियो । किसान विष्टले नैं ९ दशमलव ८ वर्गमिटर जग्गामा १ किलो काठमाडौं स्थानीय लसुन लगाउनु भएकोमा २३ किलो उत्पादन भएको बैज्ञानिक राजकुमार गिरीले जानकारी दिए ।

उनले भने, “केन्द्रको फारमसँगै किसानको बारीमा समेत गरिएको परीक्षणबाट जुम्लामा चाइनिज लसुन प्रतिहेक्टर १७ देखि २१ टनसम्म र काठमाडौं लोकल जातको लसुन एक हेक्टरमा २० देखि २३ टनसम्म फल्न सक्ने देखिएको छ । राम्रो आम्दानी हुने भएपछि किसानहरु पनि लसुन र प्याजको बीउ उत्पादनतर्फ आकर्षित हुनुहुन्छ ।”

केन्द्रले यस वर्ष पट्माराका १० जना किसानलाई बीउ उत्पादनका लागि ३ किलो चाइनिज र ३ किलो काठमाडौं लोकल गरि ६ किलोका दरले लसुनको बीउ उपलब्ध गराएको बरिष्ठ वैज्ञानिक गिरीधारी सुवेदीले जानकारी दिए । लसुनमा अरु जात मिसिने सम्भावना कम भएको, राम्रो उत्पादन दिने र बजार मुल्य राम्रो पाइने भएकोले व्यबसायिक उत्पादन गर्न बरिष्ठ बैज्ञानिक गिरीधारी सुवेदीको सुझाव छ ।

उनले भने, “जुम्लामा असोजमा लसुन लगाइन्छ र अर्को वर्षको असारमा उत्पादन लिइन्छ । लसुन भित्र्याएपछि त्यस जग्गामा सिमी लगाउन पाइने हुँदा किसानले एक वर्षमा दुई बाली लिन सक्नुहुन्छ । लसुन प्याजबाट धान, कोदो, मकै भन्दा बढी आम्दानी हुने भएकोले किसानको जीविकोपार्जनमा पनि मद्दत पुग्ने देखिएको छ ।”


  •  
  •  
  •