एसइई परीक्षाको तयारी पूरा

४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुँदै
325
  •  
  •  
  •  

काठमाडौं, ९ चैत्र(ओएनएस) : माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले जनाएको छ ।

परीक्षा आइतबार(भोली) बिहान ८ बजेबाट शुरु हुनेछ । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

यस वर्षदेखि पहिलोपटक संघीय संरचनाको स्वरुपअनुसार भोलिबाट शुरु भई आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र दुई लाख ३८ हजार ५ सय ५८ छात्रा रहेका छन् । परीक्षा नियन्त्रक अधिकारीले परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी हुँदैछन् । त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी हुँदैछन् ।

त्यस्तै प्रदेश नं १ बाट ८३ हजार ८ सय १८, प्रदेश नं २ बाट ७० हजार ५ सय १८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९ सय ८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७२ परीक्षार्थी सामेल हुनेछन् ।

परीक्षामा देशभर एक हजार ९ सय ६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९ सय ६९ केन्द्राध्यक्ष, तीन हजार १ सय ६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५ सय ३५ सुरक्षाकर्मी परिचालित हुनेछन् ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

मुलुक संघीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए । यो वर्ष प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको जानकारी दिँदै परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशन गर्ने उनको भनाइ छ ।

परीक्षा व्यवस्थापनको सम्पूर्ण काम यस वर्ष प्रदेश सरकारले गर्नेछ भने प्रदेश सरकारले तत्काल परीक्षाफल प्रकाशित गर्न नसक्ने भएकाले यसको जिम्मेवारी भने बोर्डले लिएको उनले जानकारी दिए । परीक्षा व्यवस्थापन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन् ।


  •  
  •  
  •