को–को बन्दैछन् सचिव

273
  •  
  •  
  •  

काठमाडौं, साउन २२  : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि सरकारको ध्यान लामो समयदेखि थाँती रहेका प्रशासनिक काममा केन्द्रित भएको छ। प्रशासन र प्रहरीको थाती बढुवा सरकारको पहिलो प्राथमिकतामा छन्।

सुरुमा प्रधानमन्त्री सुशील कोइराला अमेरिका हुदा बढुवा हुन नसकेकोमा पछिल्लो समय सरकारको ध्यान मोदीको भ्रमणमा व्यस्त भएको थियो। अब भने रोकिएका प्रशासनिक कामलाई प्रधानमन्त्री कोइरालाले अघि बढाउने भएका छन्। शनिबारको मन्त्रीपरिषद्को बैठकले परराष्ट्र र स्वास्थ्यमा कामुको जिम्मेवारी दिएपनि अन्य मन्त्रालयहरूमा भने अन्योल छ। परराष्ट्रमा ६ महिनादेखि निमित्त रहेका शंकर बैरागी तथा स्वास्थ्यमा डा। तिर्थराज बुर्लाकोटीलाई कामु सचिव दिएका छन्।

सचिवका यतिबेला २१ पद रिक्त छन्। जसमध्ये सात पदमा बढुवाका लागि असारको अन्तिम दिन बढुवा समितिले १७ जनाको नाम सिफारिस गरेको थियो। असारमा रिक्त भएका सात पदमा बढुवाका लागि सिफारिस भएका १७ मध्ये दुई जना बरिष्ठताका आधारमा बढुवा हुने छन्। नरबहादुर रजवार र उत्तम कार्की बरिष्ठताका आधारमा सचिव हुने पक्का छ। बाँकी पाँचमा अर्जुन कार्की, शरदचन्द्र पौडेल, दिपेन्द्र शर्मा, सुनिल मल्ल, शिवकमाुर शर्मा र महाश्रम शर्माबीच अन्तिम प्रतिस्पर्धा छ।

यसबाहेकका १४ मन्त्रालय तथा निकाय रिक्त हुने छन्। त्यसका लागि सहसचिवहरूबीच कामु हुनका लागि प्रतिस्पर्धा छ। जसमा लागि अर्थ मन्त्रालयबाट टंकमणि शर्मा, राजन खनाल, खुमराज पुंजाली र नवराज भण्डारीले कामु पाउने सम्भावना छ।
त्यस्तै केशब भट्टराई अवकाश भएपछि रिक्त भएको अख्तियारको सचिव पदमा त्यही कार्यरत सहसचिव प्रेम कुमार राईलाई कामु बनाएर जिम्मेवारी दिने तयारी भइरहेको स्रोत बताउछ।

कृषि मन्त्रालय अर्न्तगत जीवनप्रभा लामा र विजय मल्लिक सचिवको प्रतिस्पर्धामा छन्। त्यस्तै लोक सेवा आयोगका रमेश शर्मा पनि कामु सचिवको प्रतिस्पर्धामा छन्।
स्वास्थ्य मन्त्रालयका केदार अधिकारी, कलकत्तामा बाणिज्यदूतका रुपमा कार्यरत चन्द्र घिमिरे, नयाँ दिल्लीस्थित नेपाली दुतावासमा इकोनोमिक काउन्सिलरका रुपमा कार्यरत बिष्णु लम्साल पनि कामु सचिवका दाबेदार हुन्। कानुनबाट पाँच जना प्रतिस्पर्धामा छन्। रञ्जनकृष्ण अर्याल, लक्ष्मण मैनाली, राजकुमार आचार्य, कमल घिमिरे र राजेन्द्र सुवेदी प्रतिस्पर्धामा रहेको स्रोत बताउँछ। यी चारमध्ये कानुनबाट दुई जना छानिनेछन्।

दृष्टि साप्ताहिकबाट 


  •  
  •  
  •