दशैं, तिहार र छठ

101
  •  
  •  
  •  

काठमाडौं, ६ असोज (ओएनएस) : जिल्ला प्रशासन कार्यालय पाँचथरले दशैं, तिहार र छठको समयमा जिल्लाभर शान्ति सुरक्षा मजबुत बनाउन चार बुँदे कार्ययोजना तय गरेको छ । प्रशासनले प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान, स्थानीय निकाय, राजनीतिक दल र उद्योग बाणिज्य संघसमेतको समन्वयमा योजना बनाएर कार्यान्वयन थालेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार मेची राजमार्ग र जिल्लाभित्रका स्थानीय मार्गको सुरक्षा, लुटपाट र चोरी नियन्त्रण, यातायातमा हुने ‘सेन्डिकेड’ नियन्त्रण र उपभोग्य बस्तुको सहज आपूर्तिका लागि नियमित अनुगमन सुरु गरिएको छ । प्रजिअ कँडेलले भने, ‘चाडपर्वलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन आवश्यकताअनुसार नेपाल प्रहरी र सशस्त्रलाई जिल्लाभर परिचालन गर्न थालेका छौं ।’

पाँचथरजस्तै देशभरका प्रशासन कार्यालयले चाड पर्व केन्द्रीत योजना बनाएर लागू गरिसकेका छन् । गृहमन्त्रालयका प्रवक्ता सहसचिव लक्ष्मीप्रसाद ढकालका अनुसार मन्त्रालयले सबै जिल्ला प्रशासनलाई चाडबाड केन्द्रीत योजना बनाएर लागू गर्न लिखित निर्देशन दिएको छ ।
गृहले चाड पर्वभर प्रजिअ र प्रहरी, सशस्त्र, सेना प्रमुखले जिल्लामा अनिवार्य बस्नै पर्ने निर्देशन दिएको छ ।

प्रवक्ता सहसचिव ढकालका अनुसार राजमार्गमा हुन सक्ने चोरी तथा लुटपाट नियन्त्रण गर्न नियमित गस्ति खटाउने, जिल्ला र ग्रामीण क्षेत्रमा अप्रिय घटना हुन नदिन बिशेष योजना बनाएर लागू गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृहको निर्देशनअनुसार जिल्लाहरुमा शान्ति सुरक्षाको व्यवस्था मजबुत हुने गृहका अधिकारीहरुको भनाइ छ । जिल्ला र उपत्यकाका दुर्गम स्थानहरुमा चाड पर्व मनाउन घर छोडेर जाँदा चोरी हुन नदिन विशेष टोली परिचालन गर्न पनि गृहले निर्देशन दिएको छ ।

चाड पर्वमा आवश्यक उपभोग्य सामानको अभाव हुन नदिन अग्रिम रुपमा भण्डारन गर्ने, कालो बजारी हुनबाट रोक्ने र कार्टेलिङ हुन नदिन प्रजिअहरुलाई सचेत बनाएको प्रवक्ता ढकालले  बताए ।
काठमाडौं उपत्यकामा विगत वर्षका चोरी, डाका र लुटपाटका घटनाको विश्लेषण गर्दै नियन्त्रण गर्न सादा पोशाकमा पनि प्रहरी परिचालन गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले दशै तिहार पर्व सुरक्षीत र अपराध रहित बनाउन दिउसोको समयमा हुने चोरी नियन्त्रण, डाका चोरी एबं लुटपाट भएका घटनाको अनुसन्धान, चोरी, डकैती र लुटपाटमा संलग्न व्यक्ति पहिचान गर्दै पक्रने, अपराध नियन्त्रण गर्न सरोकारवाला निकायसँग समन्वय गर्दै शान्ति सुरक्षा कायम गर्ने रणनीति लिएको छ ।

चाडपर्वमा चोरी र डकैतिका घटना अधिक हुने भन्दै त्यस्ता घटना हुन नदिन सादा पोशाकमा प्रहरी परिचालन गरेको हो । काठमाडौं उपत्यकाका तीन वटै प्रहरी परिसर, वित्त, प्रभाग र युनिटहरुले पनि सादा पोशाकमा प्रहरी परिचालन गरेका छन् ।

प्रहरीले उपत्यकाभर ‘स्वीप’ टिम नै परिचालन गरेको छ । लुटपाट र चोरीमा सम्लग्न व्यक्ति लुकिछिपी बस्न सक्ने स्थानको पहिचान गर्दै सर्च गर्ने, चेक जाँच निग्रानी एवं संकास्पद गतिविधि गर्ने व्यक्तिलाई पक्रन रातीको समयमा ‘नाइट एम्बुस ड्युटी’ खटाएको छ । प्रहरीले होटल र लजमा निग्रानी तथा चेकिङ्ग बढाएको छ भने आर्थिक गतिबिधि हुने बैक, वित्तीय संस्था, व्यापारिक प्रतिष्ठानलाई प्राथमिकतामा राखी डिउटी परिचालन गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुस्कर कार्कीले बताए ।

उपत्यकामा हुने अपराधिक गतिविधिको प्रहरीले दुई साता विशेष अध्ययन गरेको छ । अध्ययनका क्रममा संकास्पद गतिविधि र चोरी तथा डकैति गर्ने ३ सय ८१ जना पक्राउ परेका छन् । तीमध्ये २ सय ५२ लाई अनुसन्धानपछि छोडेको छ । १ सय ९ जनाविरुद्ध मुद्दा लगाएको महाशाखाले जनाएको छ । चालु आर्थिक वर्षको झण्डै दुई महिनामा उपत्यकाभित्र ८२ लाख रुपैयाँ बराबरको चोरुी भएको छ ।

प्रहरीले नागरिकलाई सुरक्षित रुपमा दशैं, तिहार र छठ मनाउन सुरक्षित रहने उपाय सुझाएको छ । दिउसोको समयमा चोरी हुने गरेकोले घरबाट बाहिर निस्कदा झ्याल–ढोका राम्रोसँग बन्द गर्दै छिमेकीलाई जानकारी गराउन, बहुमुल्य गरगहना तथा नगद बैंकमा राख्न, बहुमुल्य गरगहना लगाएर हिड्दा सचेत रहन, ढोकामा बाहिर देखिने ताल्चा लगाउँदा चोरलाई घरमा मान्छे छैन भन्ने जानकारी हुने र त्यस्तो ताल्चा फुटाउन सहज हुने हुँदा घर, पसलको ढोकामा भित्री ताल्चा प्रयोग गर्न महानगरीय प्रहरी आयुक्त कार्यालयले आग्रह गरेको हो ।

आफ्नो टोलमा अपरिचित ब्यक्ति देखा परेमा निग्रानी राख्दै शंकास्पदम गरेमा प्रहरीलाई खवर गर्न, ढोकामा आग्लो, गजवार वा बलियो छेस्किनी लगाउन, घरको सुरक्षाका लागि प्रयाप्त उज्यालोको ब्यवस्था, आपतकालीन साइरन, सिसिटिभी प्रयोग गर्न प्रहरीले नागरिकसँग आग्रह गरेको छ ।


  •  
  •  
  •