काठमाडौं ३ बैशाख (ओएनएस) : सरकारले नयाँ सुरक्षा रणनिति बनाउन छलफल सुरु गरेको छ । नयाँ सुरक्षा रणनिति बनाउनका लागि क्षेत्रीयस्तरको छलफल सुरु गरेको छ । पूर्वाञ्चलक्षेत्रको दुईदिने क्षेत्रीय सुरक्षा बैठक सकेको गृह मन्त्रालयले मध्यमाञ्चल स्तरीय छलफल सुरु गरेको छ । शुक्रबार काठमाडौंमा गृहमन्त्री शक्ति बस्नेतले विषेश सुरक्षा रणनीति बैठकको उदघाटन गरेका छन् ।
भविष्यमा हुनसक्ने आन्दोलन, राजनीतिक एवं आपराधिक गतिविधिलगायत सुरक्षा चुनौतीमा गोष्ठी केन्द्रित रहने गृह प्रशासनको भनाइ छ । मधेसी मोर्चाको काठमाडौम ागर्ने आन्दोलनलाई चुनौतीका रुपमा लिइएको छ ।
ग्ृहमन्त्री शक्ति मन्त्री बस्नेतले संविधान बनेपछि देशमा सुरक्षा चुनौती थपिएको बताए । संविधान कार्यान्वयन गराउने र नगराउनेबीच ध्रुवीकरण भएकाले कस्तो सुरक्षा रणनीति बनाउने भन्नेमा छलफल आबश्यक रहेको बताए । गृहमन्त्री बस्नेतले नाकाबन्दी हटेको धेरै भइसकेकाले जनताले ग्यास र तेलको लाइनमा बस्ने अवस्थाको तत्काल अन्त्य हुनुपर्ने बताएका छन् । इन्धनको सहज आपूर्ति गराउनेतर्फ सुरक्षा निकायको ध्यान जानुपर्ने उनले बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु र उपत्यकाका सम्पूर्ण सुरक्षा प्रमुखसहितको गोष्ठीमा मन्त्री बस्नेतले भने ‘अहिले आपूर्ति सहज छ, तर त्यसको व्यवस्थापन नहुँदा जनताले दुःख पाए, अब त्यसको कुनै पनि हालतमा अन्त्य गर्ने बारे छलफल हुनुपर्छ ।’
गोष्ठिमा गृहमन्त्री शक्ति बस्नेत, गृह सचिव नारायण मलेगो, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका कायम मुकायम महानिरीक्षक दर्जकुमार राई, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिपकुमार रेग्मी लगायत मध्यमाञ्चलका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको उपस्थिति छ ।