विराटनगर, १३ साउन (ओएनएस) : मानव बेचबिखन, लागुऔषध र साना हतियार ओसारपसार, सुरक्षा निकायको आन्तरिक अवस्था, सुरक्षा निकायले भोग्नुपरेका समस्या, सङ्घीयतामा सुरक्षा प्रणाली, प्रहरी तथा नागरिकबीचको समन्वयलगायतका विषयमा छलफल गर्दै पुर्वाञ्चलस्तरीय क्षेत्रीय गोष्ठी सम्पन्न भएको छ ।
मंगलवार विराटनगरमा आयोजित क्षेत्रीय सुरक्षा गोष्ठीमा राजनीतिक परिस्थिति, अपराध, शान्ति सुरक्षा, सशस्त्र समूहको प्रभाव र गतिविधि, संविधानसभाबाट नयाँ संविधान जारी गर्ने मिति नजिकिँदै गर्दाको सुरक्षा चुनौती, पूर्वाञ्चलको सुरक्षा स्थिति, सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, तस्करी, अपहरण, सशस्त्र समूहको गतिविधि जस्ता विषयमा छलफल भएको थियो
गोष्ठीमा गृहसचिव सूर्य सिलवाल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख जीतबहादुर केसी, नेपाली सेनाका पृतनापति, गुल्मपति, प्रहरीका अञ्चल प्रमुख, पूर्वाञ्चलका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला प्रहरी प्रमुख र गृहमन्त्रालयका अधिकारीलगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।
गृहसचिव सूर्यप्रसाद सिलवालले हालको सुरक्षा अवस्था र गोष्ठीमा भएका छलफलको मूल्याङ्कन गर्दै सुरक्षा रणनीति तयार पारिने जानकारी दिए ।