सुत्केरीले प्रोत्साहन भत्ता पाएनन्

204
  •  
  •  
  •  

दार्चुला, २८ जेठ (ओएनएस) । सरकारले सुरक्षित सुत्केरी गराउन स्वास्थ्यमा आउन भन्ने उद्देश्यले सुत्केरी प्रोत्साहन भत्ता दिँदै आएको छ । तर दार्चुलामा स्वास्थय संस्थामा आउने सबै सुत्केरीले यस्तो नपाएको बताइएको छ ।

दार्चुला जिल्ला ग्वानी–६ की देवकी सामन्त पहिलोपटक बर्थिङ सेन्टरमा बच्चा जन्माउन पुगिन् । बर्थिङ सेन्टरमा बच्चा जन्माए आमा र बच्चाको स्वास्थ्यमा सुधार हुनुका साथै थप प्रोत्साहन रकम पाइन्छ भन्ने सुनेपछि उनी बर्थिङ सेन्टरमा आएकी हुन् । ‘सुत्केरी भएको छ महिना बितिसक्दा पनि सुत्केरी भएवापतको रकम पाउने कहिले हो थाहा छैन’ उनले भनिन्, । भत्ता नदिने हो भने घरमा बच्चा पाउनु र स्वास्थ्य संस्थामा आएर पाउनु एउटै भएन र भन्ने उनको प्रश्न छ ।

ग्वानी–८ की शान्ति रावल पनि बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराउन पुगकी थिइन् । तर उनको गर्भमै बच्चा मरेको निस्कियो । स्वास्थ्य संस्थामा आएर पनि प्रोत्साहन रकम नपाएपछि यहाँका महिला अहिले सुत्केरी गराउन मालिकार्जुन स्वास्थ्य चौकी र गोकुलेश्वर अस्पतालतिर जान थालेका छन् ।

गत पुस ९ गतेबाट बर्थिङ सेन्टर सञ्चालन भए पनि सूचीकृत नहुँदा सुत्केरी गराएका महिला प्रोत्साहन रकम पाउनबाट वञ्चित भएका हुन् । सरकारले हिमाली जिल्लाका स्वास्थ्य संस्थामा बच्चा जन्माएवापत १ हजार ५ सय रुपैयाँ प्रोत्साहन स्वरुप दिँदै आएको छ । प्रोत्साहन रकम पाउन बर्थिङ सेन्टर सूचीकृत हुनुपर्ने भएकाले रकम दिन नसकिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य निरीक्षक वीरहरिले बताए । स्वास्थ्य संस्थामा बच्चा जन्माए पनि प्रोत्साहन रकम पाउनबाट वञ्चित हुनेहरुमा ग्वानी–६ कि गीता डागा, वडा नम्बर– ७ कि विपना डागा, वडा नम्बर– ८ कि मानमति साउद रहेका उपस्वास्थ्य चौकी ग्वानीले जनाएको छ ।

ग्वानी गाविसमा नियमित गर्भ जाँच गराउने ४७ जना महिला भए पनि प्रोत्साहन रकम नपाउँदा उनीहरु स्वास्थ्य चौकी मालिकार्जुन र गोकुलेश्वर अस्पताल जाने थालेको अनमी धामीले बताइन् । ग्वानीका महिलाले तत्काल बर्थिङ सेन्टरलाई सूचीकृत गराउन समेत माग गरेका छन्


  •  
  •  
  •