दोस्रो सुदूरपश्चिम औद्योगिक व्यापार मेला सुरू

193
  •  
  •  
  •  

second far western industrial business festivalकञ्चनपुर, १ फागुन(ओएनएस) : दोस्रो सुदूरपश्चिम औद्योगिक ब्यापार मेला २०७१ शुक्रबारबाट सुरू भएको छ ।

नेपाल उद्योग परिसंघ कञ्चनपुर–कैलाली च्याप्टरको मूल आयोजनामा महेन्द्रनगरको स्थानीय खुल्लामञ्चमा आजदेखि ११ गतेसम्म मेला सुरू भएको हो ।‘टकिङ बिज्नेस, टकिङ चेन्ज’ भन्ने मूल नाराका साथ मेला आयोजना गरिएको हो ।

उद्योगी व्यवसायीको हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन तथा औद्योगिक लगानी मैत्री वातावरण सिर्जनाका लागि नेपाल सरकार एवं सम्बन्धित निकायसँग सहकार्य गर्दै मेला आयोजना गर्न लागिएको नेपाल उद्योग परिसंघ कञ्चनपुर–कैलाली च्याप्टरका अध्यक्ष हेमविक्रम थापाले बताए ।

स्थानीय क्षेत्रका उद्योगी व्यवसायीहरुलाई संगठित गरी सुदूरपश्चिममा औद्योगिक एवं आर्थिक विकासका लागि रोजगारी सिर्जना गर्नुका साथै स्वदेशी उत्पादनको प्रचारप्रसार एवम् प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको अध्यक्ष थापाको भनाई छ ।

मेलाको उद्घाटन यस क्षेत्रकै नेता तथा पूर्वप्रधानमन्त्री लाकेन्द्र बहादुर चन्दले गरेका छन् । मेलामा २ सय भन्दा बढी स्टल रहेको बुकिङ समिति संयोजक लाकेन्द्र विष्टले बताए । विगतका कमीकमजोरीलाई सच्चाउँदै मेलालाई भव्य तथा सभ्य बनाउने प्रयास गरिएको संयोजक विष्टले बताए ।

मेलाले सुदूरपश्चिमको पर्यटकीय तथा औद्योगिक क्षेत्रको विकास र स्वदेशी उद्योगको बजार प्रर्वद्धन गर्न सहयोग गर्ने आयोजकले विश्वास लिएको छ । हस्तकलाका सामग्री, कृषि उत्पादन, वैकल्पिक उर्जा लगायतका स्टलहरू प्रदर्शनीमा राखिएका छन् ।

यस्तै मेलामा खानाका विभिन्न परिकार र ब्यापारीक स्टलहरू सहित ब्यापारिक स्टलहरू राखिएको छ । मेलामा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको पनि वेजोड प्रस्तुती रहने छ ।


  •  
  •  
  •