दोस्रो सुदूरपश्चिम औद्योगिक ब्यापार मेला फागुन पहिलो साता

210
  •  
  •  
  •  

कञ्चनपुर, ११ पुस : दोस्रो सुदूरपश्चिम औद्योगिक ब्यापार मेला–२०७१ फागुन पहिलो सातादेखि कञ्चनपुरमा हुने भएको छ ।

नेपाल उद्योग परिसंघ कञ्चनपुर–कैलाली च्याप्टरको मूल आयोजनामा महेन्द्रनगरको स्थानीय खुलामञ्चमा फागुन १ गतेदेखि ११ गतेसम्म  मेला आयोजना हुने भएको हो ।‘टकिङ बिज्नेस, टकिङ चेन्ज’ भन्ने मूल नाराका साथ मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

उद्योगी व्यवसायीको हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन तथा औद्योगिक लगानी मैत्री वातावरण सिर्जनाका लागि नेपाल सरकार एवम् सम्बन्धित निकायसँग सहकार्य गर्दै मेला आयोजना गर्न लागिएको नेपाल उद्योग परिसंघ कञ्चनपुर–कैलाली च्याप्टरका अध्यक्ष हेमविक्रम थापाले बताए ।

स्थानीय क्षेत्रका उद्योगी व्यवसायीहरुलाई संगठित गरी सुदूरपश्चिममा औद्योगिक एवम् आर्थिक विकासका लागि रोजगारी सिर्जना गर्नुका साथै स्वदेशी उत्पादनको प्रचारप्रसार एवम् प्रवर्द्धन गर्ने उद्देश्यका साथ दोस्रो पटक मेला आयोजना गर्न लागिएको अध्यक्ष थापाको भनाई छ ।

झण्डै २ सय भन्दा बढी स्टल रहने मेलामा ५० भन्दा बढी स्टल समेत बुकिङ भइसकेको मेला स्टल बुकिङ समिति संयोजक लोकेन्द्र बिष्टले बताए । संयोजक बिष्टका अनुसार यसपालि परिसंघले स्टल बुकिङलाई विशेष प्राथमिकतामा राखेको छ । विगत वर्षका कमीकमजोरीलाई आत्मसात गर्दै यसपालीको मेला भव्य तथा सभ्य बनाउने संयोजक बिष्टको दावी छ ।

सुदूरपश्चिमको पर्यटकीय तथा औद्योगिक क्षेत्रको विकास र स्वदेशी उद्योगको बजार प्रर्वद्धन गर्न सहयोग हुने बताइएको छ । हस्तकलाका सामग्री, कृषि उत्पादन, वैकल्पिक उर्जा, लगायतको प्रदर्शनीमा राखिने भएका छन् ।

यस्तै, मेलामा विभिन्न प्रकारका खाना र ब्यापारीक स्टलहरु राखिने छन् । मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि हुने बताइएको छ ।


  •  
  •  
  •