सात वर्षअघि हराएका श्रीमान् भेटिएनन्

162
  •  
  •  
  •  

काठमाडौं २५ भदौं ।
450b7453a14a28d0c18b61d356b1e3de_L

केही खबर आयो?’
‘कतै देखेको पाइयो?
‘अझै सम्पर्क छैन?’
तीन सन्तानकी एक्ली अभिभावक माया भट्टराईले दैनिक सामना गर्नुपर्ने प्रश्न हुन् यी। फरक व्यक्तिबाट फरक समयमा यस्ता प्रश्न आइरहँदा ३२ वर्षीया भट्टराई भने एकै खाले जवाफ दिन बाध्य छिन्, ‘अहँ, केही अत्तोपत्तो छैन।’ श्रीमान् (लोकेन्द्र भट्टराई) हराएको साढे सात वर्ष पुग्नै लाग्यो।

मायालाई हजारौंले यस्ता प्रश्न सोधे, उनले हजारौंलाई यस्तै जवाफ फर्काइन्। तर, कसैले बेपत्ता श्रीमान् खोजिदिएन, न कसैले सघाए।
हरै रहर साँच्ने र अभिभावकको औधी खाँचो पर्ने उमेरका तीन सन्तान हुर्काउँदै मायाले बेपत्ता श्रीमान्को खोजीमा भौंतारिएको लामो समय भयो। जिल्ला तहमा आफ्नो आँसु मूल्यहीन भएपछि राष्ट्रिय मानवअधिकार आयोग, शान्ति मन्त्रालयदेखि नेता र मन्त्री निवासका दैलो ढक्ढक्याउँदा उनले पाउने जवाफ एउटै हुन्छ, ‘अहँ, हामी सघाउन सक्दैनौं।’
उनका आँखा अझै रित्तिएका छैनन्, बिलौनामा आँसु झरिरहेकै छन्।
‘आखिर रोएरै मेरो जिन्दगी जाने भो, गुनासो सुनेर न्याय दिन कोही निस्किएन,’ रसिला आँखामा अव्यक्त पीडा छल्काउँदै मायाले मंगलबार भनिन्, ‘राज्य बुझेर पनि नबुझेझैं गर्छ, पीडामा सघाउने कोही भएन।’
द्वन्द्वपीडितका गुनासा सुन्न आयोजित ‘शान्ति निर्माण : अनुभव आदानप्रदान’ कार्यक्रममा फेरि त्यस्तै भयो, जसरी सात वर्षदेखि हरेक कार्यक्रममा उनी यसैगरी आँसु झार्थिन् र सहयोगका निम्ति अनुनयका हात फैलाउँथिन्।
इलाममा माओवादीद्वारा पहिलोपल्ट २०५६ कात्तिकमा हत्या गरिएका शान्तिपुर निवासी चन्द्रकान्त भट्टराईका माइला छोरा लोकेन्द्र बेपत्ता भएपछि उनकी श्रीमती माया सहाराविहीन छिन्। २०६४ वैशाख ७ गते प्रशव पीडाले छटपटाउँदै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी मायाका श्रीमान् त्यही दिन अस्पतालबाटै बेपत्ता भएका थिए।

भाइटीकाको रात ‘सामन्ती’ आरोपमा बुबा मारिँदा लोकेन्द्र सदरमुकाम बस्दै विद्युत प्राधिकरणमा चौथो तहका जागिर खान्थे। शान्तिपुरमा पहिचान बनाएर बसेका चन्द्रकान्तको हत्याले गाउँ शोकमा डुबेपछि लोकेन्द्रले निधो गरे, ‘जागिर छाड्छु, राजनीति गर्छु।’ श्रीमती र पहिलो सन्तान च्यापेर उनी गाउँ फर्किए। माओवादीद्वारा निसानामा परेका बुबाकै बाटो पछ्याउँदै लोकेन्द्रले राप्रपाबाट राजनीति थालेका थिए।
‘बाउको बिँडो थाम्यो भनेर माओवादीकै कारण टिकिसक्नुभएन, फेरि झोलीतुम्बी च्यापेर सदरमुकाम फर्क्यौं,’ मायाले विगत कोट्याइन्, ‘गाउँको जग्गा बेच्दै सहरमा टिकेका थियौं, धम्की जतिसुकै आए पनि राजनीति नछाड्दा उहाँलाई बेपत्ता पारियो।’

राप्रपाका तत्कालीन जिल्ला नेता लोकेन्द्र शाहीकालमा जिविस सदस्य र माया नगर सदस्य भएका थिए।
‘आस्था नबदल्नु नै मेरा श्रीमान् बेपत्ताको कारण हो,’ माया दाबी गर्छिन्, ‘विचारमा प्रतिबद्ध हुँदा हामीबाट उहाँलाई खोसेर लगियो।’ अस्पतालबाट औषधि किन्न निस्किएका श्रीमान् नफर्किएपछि उनले प्रशव पीडाका ९ घन्टा बेहोसीमा बिताइन्। आफन्तले उद्धार गरेर चार दिनमा शिशुसहित घर फर्काए, श्रीमान् फर्किएनन्।

लोकेन्द्रको खोजीमा मायाले सुत्केरी ओछ्यानबाटै लाख कोशिस गरिन्। तर, उनको हारगुहारको कहीँ सुनुवाइ भएन। यसको कारण एउटै थियो– लोकेन्द्र बेपत्ता भएको मिति राज्यले निर्धारण गरेको ‘द्वन्द्वकाल’ मा पर्दैनथ्यो। बेपत्ता मिति लोकतन्त्र स्थापनाको एक बर्षपछि भएकाले राज्यका कुनै निकायले मायाको बिन्ती सुनेनन्। माया भने ‘द्वन्द्वकालीन रिसइबीकै कारण’ बेपत्ता पारिएको दाबी गरिरहेकी छन्।
१५, १० र आठ वर्षीया सन्तान पढाउँदै श्रीमान्को खोजीमा भौंतारिँदा मायाले सबै निकायमा पाइला पुर्याकइसकेको बताइन्। श्रीमान्को नामका दुई बिघा जग्गा ब्याज भरौनीमा लगाइन्। त्यसले नपुगेपछि चिने–जानेकाबाट ऋण लिँदै सन्तानको ख्याल गरिन्। ‘ऋण मात्र ५ लाख नाघिसक्यो, एउटाबाट ल्यायो, अर्कोलाई तिर्योम,’ पोल्ट्री सामग्री बिक्री भण्डारमा काम गर्ने उनले सुनाइन्, ‘हुर्किंदा सन्तानको दुःख देख्ने पनि कोही भएन।’
द्वन्द्वकालीन रिसइबीकै कारण लोकेन्द्रलाई बेपत्ता पारिएको हुन सक्ने भन्दै इलामस्थित मानवअधिकार तथा शान्ति कार्य समूह (प्याग) का कार्यक्रम निर्देशक प्रकाश अधिकारी ‘खोजी र राहतका लागि धेरै संघर्ष गरेको’ बताउँछन्। ‘पीडितको अवस्था देखेर हामीले बहुतै कोशिस गर्यौंि, तर द्वन्द्वकालीन घटना होइन भन्दै सबैतिरबाट पन्छाइयो,’ अधिकारीले नागरिकसित भने, ‘यसमा धेरैवटा निर्देशिका बाधक छन्, संशोधन हुनुपर्छ।’
न्यायका लागि आँसु झार्दै देखेका, सुनेका र जानेका सबै निकाय दौडिँदासमेत आशलाग्दो जवाफ नआउँदा माया मर्माहत छिन्। उनको पीडानजिकबाट नियालिरहेका अधिकारी ‘प्रयास अझै जारी रहेकाले आस बाँकी रहेको’ जनाउँदै न्याय दिलाउन लागिरहेको बताउँछन्। ‘राज्यको मापदण्ड व्यावहारिक बनाएर बेपत्ता परिवारले ढिलोछिटो न्याय पाउनै पर्छ,’ अधिकारी भन्छन्, ‘आँसु झर्न दिइरहे शान्ति प्रक्रिया सफल हुँदैन।’ नागरिकबाट


  •  
  •  
  •