सरकारले संवैधानिक परिषद्लाई कठपुतली बनायो : देउवा

93
  •  
  •  
  •  

पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चर्को आलोचना गरेका छन् ।
पोखरामा शुक्रबार आयोजित कार्यक्रममा सभापति देउवाले बोल्दै सरकारले संवैधानिक परिषद् कठपुतली बनाएको आरोप लगाए ।

फाइल तस्बिर

उनले सम्पूर्ण ठाउँमा आफ्ना मान्छे नियुक्त गरेको भन्दै अख्तियारलाई शाही आयोग बनाउँदै लगेको बताए । स्वतन्त्र न्यायालय भयो भने सरकारले गलत गरेपनि ठीक गर्न सकिने उनको भनाइ छ ।

नेपाल बार एशोसिएसनको चुनाव आफ्नै कारण हारेको भन्दै उनले असन्तुष्टि जनाए । बारमा जितेको भए न्याय परिषद्मा प्रतिनिधित्व हुने र सरकारले न्यायपालिकामा हस्तक्षेप गर्दा लड्ने ठाउँ हुने भन्दै उनले त्यो सम्भावना गएको बताए ।
अब कांग्रेस सरकारका गलत कामकाविरुद्ध सडक र सदनमा लड्ने सभापति देउवाले बताए ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक आयोगमा नियन्त्रण गर्ने सोचका साथ संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउन लागिएको आरोप लगाउँदै यसलाई राष्ट्रपतिले जारी गर्न नहुने बताए ।

यस्तै कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले आसन्न उपनिर्वाचन जनमतसङ्ग्रहजस्तै भएको बताउँदै निर्वाचनमा जनताको मन जित्दै पार्टीका उम्मेदवार विजयी बनाउन पार्टीका नेता तथा कार्यकर्ता लाग्नुपर्नेमा जोठ दिए ।

केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले लोकतन्त्र र संविधानको रक्षाका लागि एकताबद्ध हुनु आवश्यक रहेको बताए ।


  •  
  •  
  •